‘अब हामी मिल्दैनौं’ भन्दै निर्वाचन कार्यालयवाट निस्किए जसपाका नेता

Swoniga Online – Rosni | २०७८ आषाढ २२, मंगलबार वर्गीकृत राजनीति

काठमाडौ । विवाद उत्कर्षमा पुगेपछि जनता समाजवादी पार्टी ९जसपा० अब औपचारीक रुपमै विभाजन हुने भएको छ । निर्वाचन आयोगमा भएको छलफलमा सहमति जुट्न नसकेपछि जसपा औपचारीक विभाजनमा पुगेको हो । मंगलबार निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताका लागि मिल्न सकेनन् । उनीहरु आफ्नो आफ्नो वाटो लाग्ने निष्कर्षमा पुगेर आयोगवाट निस्केका छन् ।

मंगलबार आयोगले सहमतिका लागि जसपाका दुबै पक्षलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, दुबै पक्षले आफ्नो दावी नछाडेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ ।

आयोगले जसपा विवाद समाधानका लागि बुधबार इजलास गठन गर्ने र दुबै पक्षले दल दर्तासम्बन्धी ऐन बमोजिम दावी पेश गर्ने सहमति जुटेको आयोग स्रोतको भनाइ छ । बैठकमा महन्थ ठाकुर पक्षबाट महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, शरदसिंह भण्डारी, उमाशंकर अरगरिया, सुरेन्द्र झा लगायतका नेताहरू सहभागी थिए । यस्तै उपेन्द्र यादव पक्षबाट नेता यादव सहित मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि ओलीलाई साथ दिने र नदिने पक्षका बीचमा कित्ता छुट्टिएको हो। जसपामा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विवाद छ। दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आएका छन्। यसअघि दुवै पक्षले एकअर्कालाई कारबाही गर्दै आयोगमा पत्र पठाएका थिए। तर आयोगले दुवैको कारबाहीलाई स्वीकार गरेको थिएन।