‘कार्यपालिका छलेर गरिएका निर्णय बदर ’

Swoniga Online | २०७८ आषाढ १८, शुक्रबार वर्गीकृत राष्ट्रिय

स्वनिगः अनलाईन, ललितपुर ।

मेयर चिरिबाबु महर्जनले कानून मिचेर ललितपुर महानगरपालिकालाई एकलौटी तवरले सञ्चालन नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएपछि  कार्यपालिका छलेर गरिएका निर्णय के हुने भनि सबैतिरबाट प्रश्न उठ्न थालेको छ ।

ऐन, नियम र प्रक्रिया मिचेर आफुखुशी महानगरपालिका चलाउँदै आएका मेयर महर्जनले लिखित रुपमा सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। यस अघि बहुमत कार्यपालिका सदस्यले मेयर महर्जनले अब देखि कार्यपालिका बैठक छलेर अघि नबढ्ने आश्वस्त तुल्याउनुपर्ने माग गर्दै आएका थिए ।

लिखित प्रतिबद्धतापछि कार्यपालिका छलेर अहिलेसम्म भएका निर्णयहरुको अवस्था के हुने त भन्ने प्रश्नमा हस्ताक्षरकर्ता मध्येका एक, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो ‘यस अघि गरिएका निर्णयहरुको नैतिक धरातल यस्तो समझदारीपत्रबाट कमजोर भइसकेको छ । कानूनी दृष्टिमा के गर्ने भनेर असार २३ हुने बैठकमा छलफल गरेर अघि बढ्ने छौं । निर्णयको प्रकृति हेरेर कतिपय निर्णयहरु बदर पनि हुने सक्ने छ । छलफल गरेर कुन कुन निर्णय बदर गर्ने , संशोधन गर्ने भनेर तय गर्ने छौं ।’

संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाको कार्यकारी अघिकार कार्यपालिकामा रहने भनिएको छ । स्थानीय तह सरकार सञ्चालन ऐनमा कार्यपालिका बैठक मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत बोलाउने भनिएको छ।

चालू आर्थिक वर्षमा कार्यपालिका बैठक जम्माजम्मी सात बसेको छ । तर मेयर र प्रमुख प्रशासकीय अधिकृत मिलेर वा विभिन्न संयन्त्रको नाउँमा दर्जनौ निर्णयहरु भएका छन् । यस स्थितिमा मेयर महर्जनले घुमाउरो रुपमा आफूले कार्यपालिका छलेर गर्दै काम गर्दै आएकोमा गल्ती स्वीकार गरिएको रुपमा बहुमत कार्यपालिका सदस्यद्वारा लिएका छन् । सो पत्र सबै मिलेर अघि बढ्ने वचनबद्धता रहेको मेयर महर्जनले बताउनुभयो ।

यद्यपि पत्रमा कहिकतै पनि गल्ती शब्द उल्लेख गरिएको छैन । पत्रको आशय, भाषा, हस्ताक्षर गर्नुपर्ने उद्देश्य र त्यसको समयसन्दर्भ र पृष्ठभूमी हेर्दा त्यसलाई मेयरको गल्ती स्वीकोरोक्तिका पत्रका रुपमा लिन सकिने कार्यपालिका सदस्य सुदर्शन मिश्रको भनाई रहेको छ ।

सो पत्रमा कार्यपालिका सदस्य श्रीगोपाल महर्जन र रविन्द्र महर्जनले हस्ताक्षर गर्नुभएको थियो । पत्रलाई समझदारी पत्र नाउँ दिइएको छ । पत्रमा कार्यपालिका बैठक नियमित रुपमा राख्ने, आपसी सहमति र सहकार्य गरेर अघि बढ्ने चार वटा बुँदा राखिएको छ ।

मेयर महर्जनले कार्यपालिका बैठकलाई जानकारी नदिई पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यू र बिरामी भएकालाई आर्थिक सहयोग गर्ने निर्णय गर्नुभएको थियो।त्यसैगरी तोक आदेशकै भरमा मेयर महर्जनले चिडियाखानालाई १० लाख रुपैयाँको चेक र धुर्मस सुन्तली फाउण्डेशनलाई २० लाख रुपैयाँ.को चेक हस्तान्तरण गरेको थियो । त्यसैगरी लगनखेलको राजदल गणमा रहेको पोखरी बनाउने, सानेपा चक्रपथदेखि बालकुमारी चक्रपथसम्म सडक बत्ती राख्ने, कोरोनाको लागि विनियोजित करौड बजेट खर्च गर्ने लगायत निर्णयहरु गर्दै आएको थियो । दरबन्दी नै नभएको वरिष्ठ नगर प्रहरी निरीक्षक पद सिर्जना गरी सिताराम हाछेथुलाई नियुक्ति गरिएको थियो ।

लिखित प्रतिबद्धता यी निर्णयहरु सच्याउँदै जाने दस्तावेज भएको उल्लेख गर्दै यसको सफलता व्यवहारले प्रमाणित गर्ने वडा नं २१ क वडाअध्यक्ष रविन्द्र महर्जनले बताउनुभयो ।