add

छत्रपाटी अस्पतालमा अक्सिजन प्लान्ट राख्न पूर्व विद्यार्थीहरूकाे सहयोग

Swoniga Online – Bikesh Sharma | २०७८ जेठ २७, बिहिबार वर्गीकृत स्थानीय-समाज

काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुकाे समूहले आर्थिक सहयोग गरेका छन् ।

सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याच समूहले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।

बुधवार अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुले उक्त रकमको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरे।

सो अवसरमा अस्पतालका अध्यक्ष डा. श्रेष्ठले सहयोगको लागि कृतज्ञता पोख्दै संक्रमितलाई स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल अहोरात्र खटिरहेको जानकारी गराउनुभयो ।

‘अत्याधुनिक प्रविधिसहितको आइसीयू, पोर्टबेल एक्सरे मेसीनसँगै विरामीलाई छरितो र स्तरीय सेवा दिन आवश्यक अत्याधुनिक मेसीन र प्रविधि यहाँ जडान गरेका छौं, अब अक्सिजनको समस्या नहोस् भनेर अक्सिजन प्लान्ट राख्न लागेका छौं’ श्रेष्ठको भनाई हो ।

विरामीलाई उपचारको साथमा खाना, औषधीसमेत निःशुक्ल उपलब्ध गराइएको श्रेष्ठले जानकारी गराउनुभयो ।

सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुको प्रतिनिधित्व गरेर बोल्दै दिपक जोशीले कोभिड महामारी नियन्त्रणका लागि महामारीको शुरुवाती दिनदेखि नै सहयोग गर्दै आएको जानकारी गराउनुभयो ।

पूर्व विद्यार्थी समूहबाट देशका विभिन्न स्थानमा सहयोग गर्दै आएकोमा त्यसैको निरन्तरताकै क्रममा डा. सोना श्रेष्ठ, डा. निरज श्रेष्ठ, डा. मिरु गुरुङ र डा. सपना श्रेष्ठको अगुवाईमा काठमाडौंको भित्री वस्ती क्षेत्रपाटी आइपुगेको जोशीले बताउनुभयो ।

कार्यक्रममा पूर्व विद्यार्थी समूहबाट दिपिन श्रेष्ठ, सरल प्रधान, निरन्जन श्रेष्ठ, सर्जु श्रेष्ठ, राजिव श्रेष्ठ, प्रमोद सुवाल र भुपेन्द्र श्रेष्ठलगायत पनि उपस्थित भएका थिए ।