add

गायक रमेश ताम्राकारलाई सम्झिँदै विश्व नेवाः दिवस मनाइने

Swoniga Online – Birajkaji Rajopadhyaya | २०७७ चैत्र १०, मंगलबार वर्गीकृत स्थानीय-समाज

यस वर्षको विश्व नेवाः दिवस स्वर्गीय गायक रमेश ताम्राकारलाई सम्झिँदै मनाइने भएको छ ।

वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न सम्मानको साथै विभिन्न कार्यक्रमका साथ चौथो विश्व नेवाः दिवस मनाउन लागिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेपालमा हुने समारोहमा पहिलो पटक गायक ताम्राकारको सम्झनामा स्थापित नगदसहितको पुरस्कार पनि प्रदान गरिने जानकारी गराइएको छ ।

अर्गनाइजेसनको नेपाल च्याप्टरका कोषाध्यक्ष साथै चौथो नेवाः दिवस समारोह समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले दिवसको अवसरमा आउँदो चैत्र १४ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार वसन्तपुरमा विभिन्न सम्मानको साथै बहस कार्यक्रमहरु पनि गर्दै दिवस मनाउन लागेको जानकारी दिनुभयो ।

समारोहमा नेवार समाज र नेपालभाषाको विकासका लागि विशेष योगदान दिनु हुने आठ जना विशिष्ट व्यक्तित्वहरु र संंस्थालाई सम्मान गरिने जानकारी पनि श्रेष्ठले दिनुभयो ।

‘दुवै मोहडाबाट सगरमाथा आरोहण गर्दै वल्र्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल महिला पत्रकार कल्पना महर्जनलाई पनि नगद सहित सम्मान गर्न लागेका छौं, साथै नेवाः पत्रकार राष्ट्रिय दबूलाई संस्थागत सम्मान दिइनेछ’ संयोजक श्रेष्ठले भने ।

दिवसको अवसरमा नेवारहरु वर्तमान अवस्थामा कसरी अगाडि बढ्नु आवश्यक छ भन्ने विषयमा ‘हलिं नेवाः : चुनौति व अवसर’ (विश्वका नेवार : चुनौति र अवसर) विषयक बहस कार्यक्रम समेत हुन भएको छ ।

बहस कार्यक्रममा नेवार अगुवाहरु मल्ल के. सुन्दर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ र डा. महेशमान श्रेष्ठ प्रमुख वक्ताका रुपमा रहने छन् ।

यसका साथै नेपालभाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार व्यक्तित्वहरुको तस्वीर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति समेत हुने भएको छ ।

सोही समारोहमा अर्गनाइजेसनका विविध गतिविधिहरु संलग्न गरी विशेषांक समेत विमोचन गरिने जनाइएको छ ।

च्याप्टरका अध्यक्ष शाक्य सुरेनले प्रविधिको माध्यमबाट विश्वभरी छरिएर रहेका नेवाःहरुबीच ज्ञान र सीपको आदानप्रदान गर्दै समुदायको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

‘प्रविधिको सहयोगबाट आज विश्वको एउटा कुनामा रहेको व्यक्तिले अर्को कुनाको व्यक्तिसँग तुरन्त सम्पर्क गर्न सकिन्छ, आजको दिनमा विश्वभरीका नेवाःहरु एकै छाता मुनि उभिन केही गार्‍हो छैन । यसको सदुपयोग गरौं’ अध्यक्ष शाक्यले भन्नुभयो ।

विश्वका विभिन्न कुनाकाप्चामा रहेका नेवाःहरुबीच अन्तरक्रियात्मक सम्वन्ध स्थापित गर्ने एउटा अवसरको रुपमा लिँदै विश्व नेवाः दिवसलाई धुमधामका साथ मनाउन शाक्यले आव्हान गर्नुभयो ।

सन् २०१८ मा नेपालमै पहिलो विश्व नेवाः दिवस मनाइएको थियो भने दोश्रो विश्व नेवाः दिवस पनि नेपालमा वसन्तपुरबाट विभिन्न झाँकी र बाजागाजासहित र्‍याली निकालेर मनाइएको थियो । तेश्रो विश्व नेवाः दिवस गत वर्ष सन् २०२० मा कोभिड–१९ का कारण जूममार्फत् भर्च्युअल रुपमा मनाइएको थियो ।

यस वर्ष भने भव्यरुपमा बसन्तपुर डबलीमा मनाउन लागिएको विश्व नेवाः संगठन नेपाल च्याप्टरले जनाएको छ । विश्वभरी फैलिएर रहेका नेवाःहरुको साझा संगठन विश्व नेवाः संगठन (वर्ल्ड नेवाः अर्गनाइजेसन) ले हरेक वर्षको मार्चको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउँदै आएको छ ।

विश्व नेवाः संगठन गठन भएको दिनको स्मरणमा हरेक वर्ष मार्चकाे अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिएको छ ।