नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गरिने

Swoniga Online – Swonigaonline Reporter | २०७९ चैत्र १२, आइतबार वर्गीकृत राष्ट्रिय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताएका छन् । छैठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको समारोहमा प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन् ।

प्रधानमन्त्री दाहालले नेवार समूदायका लागि खोलिने सो प्रतिष्ठान सिंगो नेपालकै लागि हुने पनि स्पष्ट पारे ।

‘नेपालको सभ्यता, संस्कृति र इतिहास, भाषा, साहित्य र कलाको निम्ति नेवारहरुले गरेको अनवरत संघर्षप्रति मेरो उच्च सम्मान रहेको छ । त्यसकारण म एउटा कुनै अध्ययन प्रतिष्ठान बनाउने कुरामा तपाईहरुको अगाडि प्रतिवद्धता व्यक्त गर्दछु’ प्रधानमन्त्री दाहालले भने ।

वर्ल्ड नेवाः अर्गनाइजेसनले हरेक वर्ष मार्चको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउँदै आएको छ । यस क्रममा विश्वका विभिन्न कुनामा छरिएर रहेका नेवाःहरुले विभिन्न देशमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ ।

यस वर्ष गत मार्च २५ शनिबारका दिन दिवस मनाइएको हो । यसै क्रममा अर्गनाइजेसनको नेपाल च्याप्टरले काठमाडौंको वसन्तपुरमा समारोहको आयोजना गरेको थियो ।

सोही समारोहमा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली समाजलाई रुपान्तरण गर्न नेपालको भाषा, संस्कृतिमा विकास गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाललाई विश्वभर चिनाउन नेवाः सभ्यता र कलाले ठूलो योगदान दिइरहेको बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने नेवाः समुदायका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालभाषाको साथै नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान दिने जनकवि दुर्गालाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै नेपालको पहिलो चलचित्र ‘आमा’ मा आमाको भूमिका निर्वाह गर्ने अभिनेत्री चैत्यदेवी सिंहलाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी चर्चित गायक प्रवेशमान सिंहलाई स्वर्गीय गायक रमेश ताम्राकारको नाममा स्थापित रमेश ताम्राकार संगीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । यस पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।

सोही कार्यक्रममा प्रा.डा. त्रिरत्न मानन्धर, पूर्वराजदूत केदारभक्त माथेमा, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगपति रुपज्योति कंसाकारलगायतलाई पनि सम्मान गरिएको थियो ।