८९ वर्षीय गुह्येश्वरीले गाए दाफा गीत

Swoniga Online – Swonigaonline Reporter | २०७८ आश्विन १६, शनिबार वर्गीकृत कला

८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वाङमय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको भर्च्युअल एल्बमको विमोचन गर्नुभयो ।

कार्यक्रममा मानन्धरका जम्मा ७ वटा गीतहरु सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका गीतहरुको संगीत संयोजनको साथमा रेकर्डिङ र मिक्सिङ समेत हरिशरण सायमिले गरेका छन् ।

सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । म्यूजिक भिडियोमा जितेन्द्र महर्जनको निर्देशनमा सोहन मानन्धरले छायाङ्कन र दृश्य सम्पादन गरेका छन् ।

त्यस्तै मोडल आराध्यलक्ष्मी खड्गीको साथमा नेपालमै पहिलो पटक एकल नृत्य कार्यक्रम गर्दै आफ्नो प्रस्तुति दिएका नृत्य कलाकार स्वजन रघुवंशीले अभिनय गरेका छन् ।

आफ्नो मन्तव्य राख्दै शताब्दी पुरुष जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि त्यो प्रतिष्ठानले वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ ।

देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा राज्यले गर्नुपर्ने काम जनस्तरबाट ठुलो भएको भन्दै जोशीले गायक गुह्येश्वरी राजको प्रशंसा गर्नुभयो ।

जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा प्राध्यापक डाक्टर सिलु मानन्धर बज्राचार्य र प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले परम्परागत दाफा गीतको संरक्षणमा गायक मानन्धरको योगदानको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा शताब्दी पुरुष जोशी, जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा दाफा गुरुहरुलाई दोसल्ला ओढाइ सम्मान समेत गरिएको थियो ।

काठमाडौँ उपत्यकामा बिभिन्न चाडपर्वको अवसरमा सार्वजनिक सत्तल, पाटी आदिमा विभिन्न धार्मिक, पौराणिक कथाहरुमा आधारित घटनालाई भजनको रुपमा गाउने गरिन्छ । यस्तै भजनहरुलाई दाफा गीत वा भजन भनिन्छ ।