add

काठमाडौं महानगर नगर सभाको ८ औं अधिवेशन सुरु

Swoniga Online – बिकेश राज | २०७७ पौष २७, सोमबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन सुरु भएको छ ।

सोमबारबाट राष्ट्रिय सभागृह काठमाडौंमा सुरु अधिवेशनमा तीन ओटा विधेयक प्रस्तुत भएका छन् ।

बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक– २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक– २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक– २०७७’ पेश भएका हुन् ।

ती विधेयकहरु विभागीय प्रमुखहरु क्रमशः हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले प्रस्तुत गर्नुभएको थियो ।

यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सुरु बैठकमा चालु आर्थिक बर्षको ५९ वटा कार्यक्रममा संशोधन प्रस्ताव गरिएको छ ।

यसरी प्रस्ताव गरिएका कार्यक्रमहरुमा निशुल्क वितरणका लागि औषधी खरिद, स्वास्थ्य उपकरण खरिद, सडक स्तरोन्नति गर्ने, ढल तथा मंगाल निर्माण गर्ने काम रहेका छन् ।

त्यस्तै सार्वजनिक सम्पत्तिको मर्मत तथा संरक्षण, मठमन्दिर, गुठीघर, देवता घरजस्ता सांस्कृतिक संरचनाको पुननिर्माण, मर्मत सम्भार तथा सौन्दर्य बढाउने, सरकारी र सामुदायिक अस्पतालहरुसँग सहकार्य, यातायात तथा सुरक्षा व्यवस्थापन नगर साझेदारी कार्यक्रमलगायत छन् ।

‘विभिन्न वडाबाट पूर्वाधार निर्माणका धेरै माग आइरहेका छन्,’ सभाका अध्यक्ष एवं प्रमुख शाक्यले भन्नुभयो, ‘ती मागलाई लागतमा रुपान्तरण गरेर हेर्दा अरबौंको बजेट आउन सक्छ । यसरी माग भएका योजनालाई आगामी बर्षको कार्यक्रममा समेट्ने छौं ।’

अहिले भने स्वीकृत नीति र कार्यक्रम तथा कानुनले दिएको अधिकार प्रयोग गरेर केही शीर्षकहरुमा बजेट संशोधन प्रस्ताव गरिएको शाक्यले जानकारी गराउनुभयो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख श्रेष्ठले जनप्रतिनिधिको बाँकी कार्यकाललाई अधिकतम् जनताका चाहना पूरा गर्ने योजनामा केन्द्रित गर्न सबै जनप्रतिनिधिले साझा मत निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।