add

पाँचखालमा मदिरा सेवन गर्न अनुमति लिनुपर्ने

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ चैत्र ४, बुधबार वर्गीकृत राष्ट्रिय

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले यहाँका नागरिकलाई मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको छ 

‘मदिरा नियमन तथा व्यवस्थापन ऐन २०७७’ अनुसार नागरपालिकाले मदिरा उत्पादन तथा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

मदिरा उत्पादन, बिक्री वितरण र सेवनका लागि अनुमति लिनुपर्ने तथा मदिरा सेवनकर्ताले वार्षिक शुल्क तिरेर ‘सेवन कार्ड’ लिनुपर्ने व्यवस्था नगरपालिकाले गरेको छ।सो ऐनले १८ वर्षको उमेर पूरा नगरेका व्यक्तिले मदिरा बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

नगर क्षेत्रभित्र सदाचार, स्वास्थ्य, सुविधा तथा आर्थिक हित कायम राख्दै सभ्य, शान्त र सकारात्मक बाटोमा समुदायलाई अग्रसर गराउन तथा घरेलु हिंसा न्यूनीकरणका लागि नगरपालिका क्षेत्रभित्र मदिरा उत्पादन, बिक्री वितरण र सेवन कार्यको नियमन तथा व्यवस्थापन गर्न यस्तो व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यालय, स्वास्थ्य केन्द्र, सार्वजनिकस्थल, पार्क, मन्दिर, सरकारी तथा गैरसरकारी कार्यालयभन्दा कम्तीमा २०० (दुई सय) मिटर टाढा मदिरा पसल खोल्न पाउने व्यवस्था रहेको छ । ओसारपसार गर्ने बिक्रेताले बिक्री गरेको मदिराको लगत राख्नुपर्ने व्यवस्था गरेको नगरपालिकाले जनाएको छ ।

जाती विशेषका पर्व, उत्सव, परम्परा र संस्कृतिको समयमा नगरपालिकासँग पूर्वस्वीकृति लिई तोकिएको समय, स्थान र संख्यामा मदिरा लैजान सकिने व्यवस्था ऐनले गरेको छ । सेवनकर्ताले नगरपालिकाबाट सेवन कार्ड लिनुपर्ने र सो वापत वार्षिक एकमुष्ट रु ५०० तथा नवीकरण र कार्डबापत रु ५०० बुझाउनुपर्ने व्यवस्था छ। अतिथि कार्डबापत प्रत्येक दिन रु १०० का दरले तिर्नुपर्ने व्यवस्था ऐनले गरेको छ ।

 

ऐन विपरित कार्य गरेबापत सङ्कलन भएको रकममध्ये २५ प्रतिशत सुरक्षा व्यवस्थापनमा, २५ प्रतिशत शिक्षा र स्वास्थ्य क्षेत्रमा, १५ प्रतिशत सुराकीलाई, १५ प्रतिशत सूचनामा र २० प्रतिशत रकम नगरपालिकाको सञ्चित कोषमा जम्मा गरिने व्यवस्था रहेको नगरपालिकाले जनाएको छ ।