श्याम र नवदुर्गागणबीच सहमति भयो

Swoniga Online – Swonigaonline Reporter | २०८० जेठ २८, आइतबार वर्गीकृत स्थानीय-समाज

हाम्रो जात्रा डट कमका संचालक साथै चर्चित संचारकर्मी श्याम था र भक्तपुर नवदुर्गा गणबीच हिजो शनिबारको विवादलाई लिएर सहमति भएको छ ।

हिजो शनिबार भक्तपुर नवदुर्गाको जात्राको क्रममा श्याम था र नवदुर्गा देवगणबीच भएको विवादलाई लिएर सहमति गरिएको हो ।

था र देवगणबीच नेवाः पत्रकार राष्ट्रिय पत्रकार दबू भक्तपुर शाखा र समाजका अन्य प्रतिनिधिहरुको रोहबरमा सहमति भएको हो ।

सहमति लगत्तै संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै आगामी वर्षहरुमा भक्तजन र संचारकर्मीको लागि व्यवस्थित रुपमा व्यवस्था गर्ने योजनासहित अघि बढ्ने प्रतिवद्धता दुबै पक्षले जनाएका छन् ।

विज्ञप्तीमा दुबै पक्षले आआफ्नो गल्ती भएको महसूस गर्दै सहमति गरिएको जनाइएको छ । दुबै पक्षबीच आआफ्नो जिम्मेवारी बहन गर्ने क्रममा भीडमा ठेलमठेल भएको अवस्थामा सामान्य चोट लागेको बताइएको छ ।

‘आगामी दिनमा यस्तो घटना नदोहोर्याउने र जात्रालाई भब्यसभ्य तरीकाले मनाउँदै संसारभर बृहत रुपमा प्रचार प्रसार गर्दै जाने प्रतिवद्धता समेत जाहेर गरेको छ’ विज्ञप्तीमा लेखिएको छ ।

सहमति पत्रमा हाम्रा जात्राका संचालक श्याम र देवतागणका तर्फबाट श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मी प्रसाद बनमालाले हस्ताक्षर गरेका छन् ।

समितिका तर्फबाट सल्लाहकार नारायणमान बनमाला र श्याम थाका तर्फबाट नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका सचिव देबेन्द्र प्रजापति साक्षी बसी हस्ताक्षर गरेका छन् ।