पल शाह अभिनित नेपालभाषाको म्यूजिक भिडियो सार्वजनिक
Swoniga Online – Swonigaonline Reporter | २०८१ भाद्र ३०, आइतबार वर्गीकृत कला
गोपाल कृष्ण महर्जनबाट गाइएको नेपालभाषाको गीत ‘अयलाः अयलाः’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिवार काठमाडौं सुन्धारास्थित सिटिसि मलमा रहेको सिडिसि सिनेमामा उक्त म्यूजिक भिडियो प्रिमियर गर्दै सार्वजनिक गरिएको हो ।
म्यूजिक भिडियो प्रदर्शनको दौरान र पछि दर्शकहरुबाट पाएको प्रतिक्रियाले आफु निकै उत्साहित भएको निर्देशक सुरेन्द्र तुलाधरले बताए ।
‘राम्रो गीत बनोस् भनेर जुन मिहिनेत गरेको थिएँ, त्यो सफल भएको महसूस भएको छ । गीत सबैले निकै मन पराइदिनुभएको पाएँ’ निर्देशक तुलाधरले भने ।
राम्रो म्यूजिक भिडियो बनाउन आफुले बजेटमा कुनै सम्झौता नगरेको निर्माता समेत रहेका गायक महर्जनले भने ।
‘बनाएपछि राम्रै बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । राम्रो म्यूजिक भिडियो बनाउन बजेटमा कुनै सम्झौता गरेको छैन’ महर्जनले भने ।
सृष्टि महर्जनसँगै चर्चित अभिनेता पल शाह अभिनित म्यूजिक भिडियोको छायाङ्कन कीर्तिपुरस्थित ससःत्वाः, ठमेलस्थित 10X र टेकुस्थित बम्बीर शिवालय ट्रस्टमा गरिएको छ ।
गीतको परिकल्पना पनि निर्देशक तुलाधरकै रहेको छ । कोरीयोग्राफी रोहिया महर्जनले गरेकी छिन् ।
सौरभ लामाको डिओपीमा इश्वर लाल सिंकेमनाले छायाङ्कन गरेका छन् । दृश्य सम्पादन सुजन बडालले गरेका छन् ।
शब्द रचना पवन जोशीको छ भने संगीत अनिल तुलाधरले दिएका छन् ।
सिडिसि सिनेमामा प्रिमियर गरिएसँगै यो म्यूजिक भिडियो ओएसआर डिजिटल युट्युब मार्फत सार्वजनिक भइसकेको छ ।