सातदोबाटोले रानीपोखरी कर्नर टिमलाई १–० गोल अन्तरले पराजित

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत खेलकुद

दुई खेल अगावै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । च्याम्पियन बन्ने क्रममा सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो । खुमलटारले २५ अंक रह्यो । अब सातदोबाटोले आगामी सिजनको ’ए’ डिभिजन लिग खेल्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ । 

यसअघि भएको खेलमा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ । लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा मध्यपुरले बिहिबार झम्सिखेल युथ क्लबलाई २–१ ले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुरलाई जित दिलाउन रोनिस ढिके राजबाहक र धिरज श्रेष्ठले एक एक गोल गरे ।

झम्सिखेलका मनिष खड्काले एक गोल फर्काए । जितसँगै मध्यपुरले लिगको सुखद अन्त्य गरेको छ । जितपछि मध्यपुरले ११ खेलमा १६ अंक जोडेको छ । झम्सिखेल ११ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । लिगबाट पुल्चोक स्पोर्ट्स क्लब यस अघि नै ’सी’ डिभिजनमा घटुवा भइसकेको छ ।