बेस्ट एक्टरले गरे रूद्री पाठ

Swoniga Online – Biraj | २०७८ भाद्र २०, आइतबार वर्गीकृत स्थानीय-समाज

केही दिन अघि मात्रै अमेरिकामा सम्पन्न नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव एवम् अवार्ड कार्यक्रममा बेस्ट एक्टर विधामा अवार्ड जितेका सुशील राजोपाध्यायले काठमाडौंमा रूद्री पाठ गरेका छन् ।

नेपालभाषाको चलचित्र जामनः गुभाःजुबाट बेस्ट एक्टरको साथमा बेस्ट स्क्रीनप्लेको अवार्डसमेत जितेका राजोपाध्यायले राजोपाध्याय समाजले आयोजना गरेको पञ्चाभिषेक रूद्री कार्यक्रममा पाठ गरेका हुन् ।

समाजले मासिक रूपमा गर्दै आएको कार्यक्रम अन्तर्गत शनिबार सम्पन्न कार्यक्रममा सुशील राजोपाध्यायसहित ५ जना देव ब्राम्हणहरुले रूद्री पाठ गरेका थिए ।

महादेवको पाँचवटा मुखलाई अभिषेक गर्दै पाँचै जना ब्राम्हणबाट रूद्री पाठ गर्ने गरिएको समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले बताउनुभयो ।

काठमाडौंमा रूद्री पाठ भइरहेकै समयमा ललितपुर र भक्तपुरमा पनि पाठ गरिएको थियो ।

काठमाडौंमा सानो पशुपति समेत भनिने मखनस्थित महिन्द्रेश्वर महादेवस्थानमा रूद्री पाठ गरिएको  थियो । त्यस्तै ललितपुरमा मंगलबजारस्थित विश्वनाथ महादेवस्थानमा र भक्तपुरमा टौमढीस्थित तिलेश्वर महादेवस्थानमा रूद्री पाठ गरिएको थियो ।

समाजले कोरोना महामारीबाट मुक्ति र समग्र मानव समाजकै सुस्वास्थ्यको कामना गर्दै मासिक रुपमा उपत्यकाका तीनै शहरमा एकै दिन एकै समय पारेर पञ्चाभिषेक रूद्री कार्यक्रम गर्दै आएको छ ।

राजोपाध्याय समाज उपत्यकाका आदिवासी ब्राम्हण समुदायको रूपमा परिचित राजोपाध्याय देव ब्राम्हणहरुको छाता संगठन हो ।