१८ वडालाई नमूना वडा बनाउने चन्द्रको योजना

Swoniga Online – Swonigaonline Reporter | २०७९ बैशाख ११, आइतबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं महानगरपालिका वडा १८ का वडाध्यक्ष पदका प्रत्यासी चन्द्र महर्जनले १८ वडालाई नमूना वडाको रुपमा विकास गर्ने दावी गरेका छन् ।

किलागल टोलका स्थानीय वासिन्दा चन्द्र महर्जनले १८ वडालाई आर्थिक, सामाजिक, सांस्कृतिक सम्पूर्ण रुपबाट वडालाई विकास गर्दै नमूना वडा बनाउने दावी गरेका हुन् । स्वनिगः अनलाईनसँगको कुराकानीमा महर्जनले यस्तो बताएका हुन् ।

‘कामपा १८ वडा सांस्कृतिक रुपले सम्पन्न वडा हो, यहाँको मूर्त अमूर्त सम्पदाको विकास गर्दै यसलाई पर्यटकीय हबको रुपमा विकास गर्ने र वडाबासीको आर्थिक स्तर उकास्ने मेरो योजना छ’ महर्जनले भने ।

कामपा १८ वडाको अध्यक्ष पदका लागि महर्जनले जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उम्मेदवारी दिन लागेका हुन् ।

महर्जन हाल स्टार क्लबका अध्यक्ष समेत हुन् भने लकडाउनको समयमा फुटपाथ पसल हटाउ अभियानमा निरन्तर २ सय दिन भन्दा बढि खटेका थिए । हाल उनी स्वच्छ जागरुक युवा समाज नामक सामाजिक संस्थामार्फत पनि सामाजिक गतिविधिमा सक्रिय छन् ।

‘वडाको विकासको लागि के कस्ता कदम चालिनुपर्छ, के कस्ता कामहरु गर्नुपर्छ मैले एकदम राम्ररी बुझेको छु । म यहाँको वडाध्यक्ष भएर आएँ भने वडाको मुहारै फेरीदिने योजना मसँग छ । त्यसैले मैले उम्मेदवारी दिन लागेको हुँ’ महर्जनको भनाई हो ।

१८ वडालाई फुटपाथ पसलरहित बनाउने, अव्यवस्थित तारहरुलाई व्यवस्थित बनाउने, ढल, खानेपानीको उचित व्यवस्थालगायतको काम गर्ने महर्जनले बताए ।

त्यसैगरी १८ वडाको विष्णुमति पुल नजिकै खुल्ला व्यायामस्थल बनाउने, ज्येष्ठ नागरिक क्लब बनाउने योजना पनि महर्जनले सुनाए ।

‘ज्येष्ठ नागरिकहरु घरमै मात्र बस्नुपर्दा मानसिक रुपमै विरामी पर्न सक्छन् । त्यसैले ज्येष्ठ नागरिकहरु भेला हुने, एक आपसमा छलफल, अन्तरक्रिया गर्ने, योग, व्यायाम, भजन किर्तन, प्रवचन आदि लगायतको गतिविधि गर्न ज्येष्ठ नागरिक क्लब बनाउने योजना पनि मैले बनाएको छु’ महर्जनले आफ्नो योजना सुनाउँदै गए ।

परम्परागत पेशा संरक्षण गर्दै वडाबासीलाई आर्थिक रुपमा पनि सबल बनाउनका लागि आवश्यकताको आधारमा अन्य वडा वा अन्य स्थानीय तहसँग सहकार्यमा अघि बढ्ने महर्जनको योजना रहेको छ ।