add

चाइना फाउन्डेसनबाट १७ वडालाई अक्सिजन सिलिन्डर प्रदान

Swoniga Online – Biraj | २०७८ जेठ ९, आइतबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा विभिन्न स्वास्थ्य सामग्री आज प्रदान गरेको हो ।

आज आइसोलेसन परिसरमै आयोजित कार्यक्रममा उक्त सामग्रीहरु हस्तान्तरण गरियो । फाउन्डेसनका कन्ट्रि डाइरेक्टर झाउ छि याङले सामग्रीहरु १७ वडाका वडाध्यक्ष नवीन मानन्धरलाई हस्तान्तरण गर्नुभयो । फाउन्डेसनले प्रति सिलिण्डर ४० लिटर क्षमताको २० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको हो । त्यस्तै फाउन्डेसनले २ सय थान पिपिई, एक सय थान फेसशिल्ड, एक हजार थान मास्क र २ थान निसंक्रमण मेशीन सहयोग प्रदान गरेको हो ।

सामग्री हस्तान्तरण गरेर लिँदै वडाध्यक्ष मानन्धरले अहिले देशमा महामारीको अवस्थामा चाइना फाउन्डेसनको यो सहयोगले आफुहरुलाई ठुलो हौसला मिलेको बताउनुभयो ।

‘महामारीलाई नियन्त्रणमा लिन सामूहिक प्रयासको खाँचो छ, हामी सबै मिलेर मात्रै यसलाई नियन्त्रणमा लिन सक्छौं । छिमेकी राष्ट्र चाइनाले हामीलाई दिएको यो सहयोगले महामारी नियन्त्रणका लागि अझ सशक्त ढङ्गले अघि बढ्न हामीलाई ठुलो हौसला मिलेको छ’ मानन्धरले भन्नुभयो ।

त्यसैगरी फाउन्डेसनका नेपाल निर्देशक झाउ छि याङले नेपालमा कोभिडको दोश्रो लहर आइरहँदा आफुहरुलाई पनि चिन्तित बनाएकोले महामारी नियन्त्रणका लागि सानो सहयोग गर्न खोजेको बताउनुभयो ।

‘यहाँ चिकित्सकहरुले संक्रमितको जीवन रक्षा गर्न गार्हो परिरहेको भनिरहँदा, अक्सिजनको अभाव भइरहेका लगायतका कुराहरु सुन्दा हामी चिन्तित बनेका छौं, विश्व महामारीलाई नियन्त्रणमा लिन अन्तरदेशीय सामूहिक प्रयास पनि हुनु जरुरी छ’ झाउले भने ।

फाउन्डेसनले आजै काठमाडौं महानगरपालिका वडा नम्बर १९ र वडा नम्बर २६ को आइसोलेसनको लागि पनि अक्सिजन सिलिण्डरसँगै विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।

फाउन्डेसनले यस अघि पनि काठमाडौंका विभिन्न वडामा हात धुने स्टेशन स्थापना गर्नका साथै विपन्न परिवारका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ ।