add

डोनाल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ता

Swoniga Online | २०७९ चैत्र १७, शुक्रबार वर्गीकृत विश्व

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ ।

सन् २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन एक लाख ३० हजार अमेरिकी डलर दिएको मुख्य अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।

ट्रम्पले ड्यानियल्सलाई दिएको रकमलाई कानुनी रूपमा स्पष्ट नखुलाई व्यापारिक प्रयोजनका लागि भनेर उल्लेख गरेको थियो । यो कार्य न्युयोर्क राज्यको कानुन अनुसार गैरकानुनी रहेको पाइएपछि उनीविरुद्ध अदालतमा अभियोजन दर्ता भएको हो ।

पूर्वराष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् ।

उनले आफू अमेरिकी नागरिकको पक्षमा लगातार उभिएकाले गलत आरोप लगाएर दुःख दिन खोजेको बताएका छन् । ट्रम्पले आगामी मंगलबार अदालतमा हाजिर भएर आफ्नो प्रतिरक्षा गर्ने अपेक्षा गरिएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध हालसम्म विरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट भएको छैन् ।

अमेरिकी संचार माध्यमहरुका अनुसार ट्रम्पविरुद्ध व्यापारिक धोकाधडीका करिब दुई दर्जन अभियोग लगाइएका छन् । तर, सो कुराहरु कतैबाट पनि स्वतन्त्र रुपमा पुष्टि भने भइसकेको छैन ।

पूर्वराष्ट्रपतिको समर्थनमा रहेका रिपब्लिकन नेताहरुले यसलाई ‘राजनीतिक घटना’का रुपमा प्रतिरक्षा गरिरहेका छन् ।

त्यस्तै डेमेक्र्याटहरुले भने कोही पनि कानुनभन्दा माथि नभएको प्रतिक्रिया दिएका छन् ।