देश चिनाउने कलाकारलाई कसैले नचिनेको नृत्यु निर्देशकहरुको गुनासो

Swoniga Online – समाचार श्राेत : बिराजकाजी राजाेपाध्याय | २०७७ पौष २६, आइतबार वर्गीकृत कला

आफ्नो दुःखलाई लुकाएर सबैको मनोरन्जन गर्नुका साथै देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरिरहे पनि अप्ठ्यारो अवस्थामा कतैबाट सहानभुतिका एक शब्द समेत सुन्न नपाएको गुनासो नृत्य निर्देशकहरुले गरेका छन् ।

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालको चौथो वार्षिक साधारण सभाका वक्ताहरुले देशलाई चिनाउने काम गर्ने कलाकारहरुलाई बन्दाबन्दीको समय आउँदा कसैले नचिनेको अनुभव भएको बताए ।

‘कसैले खाए नखाएको एक प्रश्न सोध्ने मानवता पनि हो, यो बन्दाबन्दीको समयमा हामीले भोग्यौं,’ नृत्य निर्देशक बुद्ध लामाले भन्नुभयो, ‘बन्दाबन्दीमा काम ठप्प भएको समयमा कसैले फोन गरेर हालखबरसम्म सोधेन, हाम्रो स्थिती यस्तो छ ।’

संघको काठमाडौं शाखा अध्यक्ष समेत रहेका लामाले आफुले काम गर्दै आएका विद्यालय वा संस्थाले न्यूनतम पारिश्रमिक समेत नदिँदा पनि कतैबाट केही पहल नभएको दुखेसो पोख्नुभयो ।

कार्यक्रममा वरिष्ठ नृत्य गुरु पूर्ण कलाकार भनेको मनोरन्जको साधन मात्र बनेको भन्दै सबै एकजुट भएर समाजमा प्रभावशाली स्थान बनाउनमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकहरुको समस्या समाधान गर्न र क्षेत्रको वृहत्तर हितको लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संघको भक्तपुर शाखाका अध्यक्ष दिपक बज्राचार्य, ललितपुर शाखाकी सचिव मिनर्वा शर्मा राजोपाध्याय, काभ्रे शाखाका अध्यक्ष मोहन तौजलेले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा कलाकार नन्दिताराज वैद्य र समाजसेवी हसना शाक्यलाई मानार्थ सदस्यता दिइएको थियो भने संघको काठमाडौं, भक्तपुर, ललितपुर र चितवन शाखाको नयाँ चयन भएको कार्यसमितिलाई खादा ओढाई शुभकामना दिइएको थियो ।