आफुमाथि षडयन्त्र भएको पूर्वमन्त्री डा. शाक्यको दाबी

Swoniga Online – आकाश | २०८० जेठ १०, बुधबार वर्गीकृत राजनीति

बागमति प्रदेशका पूर्वमन्त्री साथै पूर्व सभासद् डा. अजयक्रान्ति शाक्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा षडयन्त्रपूर्वक आफ्नो नाम समावेश गरी चरित्रहत्या गर्न खोजेको दावी गरेका छन् ।

सामाजिक संजालमार्फत एक विज्ञप्ती जारी गर्दै पूर्व मन्त्री साथै पूर्व सभासद् डा. शाक्यले आफुसँग असम्बन्धित र सरोकार नभएको विषयमा आफ्नो नाम षडयन्त्रपूर्वक समावेश गरी चरित्रहत्या गर्न खोजेको बताएका हुन् ।

हिरासतमा रहेर वयान दिएका गिरोहका नाइके भनिने आरोपित व्यक्ति आफ्नो लागि विल्कुलै अपरिचित व्यक्ति भएको र यस्ता अपरिचित व्यक्तिसंग आफुले अहिलेसम्म भेटघाट र सम्वाद समेत नगरेको डा. शाक्यले बताएका छन् ।

‘यस्तो अवस्थामा त्यस्ता आधारहिन, भ्रामक र कपोलकल्पित वयान किन र कुन उद्देश्यले ती अभियुक्तलाई बोल्न लगाईयो वा बोल्यो म आश्चर्यचकित छु’ शाक्यले लेखेका छन् । डा. शाक्य अगाडी लेख्छन्, ‘सतीले सरापेको देशमा असल काममा लागेको धेरैलाई षडयन्त्रमूलक ढंगले अपमानित गर्ने र कमजोर तुल्याउने हर्कतहरु विगतमा पनि नभएका भने होइनन् । मैले यो षडयन्त्रपूर्वक गरिएको योजनाबद्ध आरोपलाई त्यही श्रृंखलाका रुपमा लिएको छु ।’ शाक्यले यस आरोपलाई आफ्नो जीवनको सबै भन्दा विदीर्ण आरोप भनेका छन् ।

आफु विदेशका धेरै अवसरहरुलाई त्याग गरेर देशको माटोलाई आफ्नो हृदय भन्दा प्यारो ठानेर काम गरिरहेको भन्दै आफुमाथि राष्ट्रहित विपरीतको यो गम्भीर आरोप लाग्दा अचम्मीत, मर्माहत र स्तब्ध भएको उनले बताएका छन् ।

केही दिनदेखिका अकल्पनीय, भ्रामक र कपोलकल्पित आरोपका छर्राले आफुलाई शिथिल बनाउने प्रयास गरिरहेको तर आफू पूर्णरुपमा निर्दोष भएको दावी गर्दै शाक्यले सत्यको विजय हुनेमा विश्वास पोखेका छन् ।