मातृभाषी चलचित्र क्षेत्रमा युवा पुस्ताको सक्रियता आवश्यक रहेकोमा जोड
Swoniga Online – Swonigaonline Reporter | २०७९ आषाढ २२, बुधबार वर्गीकृत कला

नेवाः फिल्म सोसाईटीको आयोजनामा वृहत भिडियोग्राफी तालिम सम्पन्न भएको छ । सोसाईटीले ललितपुरमा तीन दिने भिडियोग्राफी सम्वन्धि कार्यशालाको आयोजना गरेको थियो ।
असार १९ देखि २१ गतेसम्म ललितपुर कुमारीपाटीस्थित स्कूल अफ फिल्म मेकिङमा आयोजना भएको कार्यशालाको मंगलबार समापन गर्दै कार्यशालाका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
समारोहमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवारले महासंघको पहलमा मातृभाषी चलचित्रको निर्माण इजाजत प्राप्त गर्न चलचित्र विकास बोर्डबाट केही सहुलियत सुविधा प्राप्त गर्न सफल भएपनि सेन्सर लगायतका प्रकृया अझै झन्झटिलो रहेको बताउनुभयो ।
मातृभाषी चलचित्रको लागि छुट्टै आदिवासी जनजाति चलचित्र सेन्सर बोर्ड गठन गर्न अथवा हालको सेन्सर बोर्डमा मातृभाषी चलचित्रको लागि छुट्टै ढाँचा बनाउन आफुहरुले माग गर्दै आएको सुनुवारले जानकारी गराउनुभयो ।
सोसाईटीका अध्यक्ष बिराज काजी राजोपाध्यायले कार्यशालामा विशेष गरी युवा पुस्तालाई नै लक्षित गरिएको जानकारी गराउँदै यस्ता कार्यक्रमले युवाहरुलाइ आदिबासी चलचित्रतर्फ आकर्षित गर्दै आफ्नो कला र आदिबासी सृजनामा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
सोही समारोहमा अध्यक्ष राजोपाध्यायले सोसाइटीले आउँदो श्रावण ६ गते कलाकार भेला कार्यक्रमको आयोजना गर्न लागेको र उक्त भेलाबाट ३ वटा महत्त्वपूर्ण विषयहरुको घोषणा गर्ने जानकारी पनि गराउनुभयो ।
सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले कार्यशालामा सिकेको सीपलाई व्यवहारमा उतार्दै मातृभाषी चलचित्रलाई पनि सक्दो योगदान दिन आग्रह गरे ।
३ दिने प्रशिक्षणमा १० जना युवालाई प्रशिक्षक बिशाल राजभण्डारीले भिडियोग्राफीका विविध बिषयमा प्रशिक्षण दिनुभएको थियो ।