add

संस्कृत अध्ययनलाई प्रोत्साहित गर्नुपर्नेमा जोड

Swoniga Online – Bikesh Sharma | २०७७ माघ ३, शनिबार वर्गीकृत स्थानीय-समाज

अहिलेको युवा पुस्तामा संस्कृत शिक्षा लोप हुँदै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा शुक्रबारबाट शुरु भएको संस्कृत कक्षाको शुभारम्भ कार्यक्रमका वक्ताहरुले अहिलेको युवा पुस्तामा संस्कृतको ज्ञान र चासो कम हुँदै जाँदा समाजको ऐतिहासिक पहिचान पनि हराउने सम्भावना बढेको विचार पोखेका थिए ।

काठमाडौंका आदिवासी देव ब्राम्हण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको काठमाडौं  जिल्ला समन्वय समितिको आयोजनामा काठमाडौंमा तीन महिने संस्कृत कक्षाको शुरुवात भएको हो ।

कक्षाको शुभारम्भ कार्यक्रममा बोल्दै समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले शिलापत्र, ठ्यासफू, विभिन्न धार्मिक पुस्तकहरुमा संस्कृतको प्रयोग धेरै मात्रामा हुने भएकोले ईतिहास बुझ्न संस्कृतको ज्ञान अपरिहार्य भएको विचार राख्नुभयो ।

‘समाजको, राष्ट्रको ईतिहासको जरासम्मको अध्ययन गर्ने हो भने संस्कृतको ज्ञान हुनैपर्छ,’ अध्यक्ष राजोपाध्यायले भन्नुभयो । ‘संस्कृतको ज्ञान लिएर हाम्रो ईतिहासको अध्ययनमा, समाजमा हाम्रो पहिचान अझ सशक्त बनाउनमा योगदान दिनुहोला ।’

कक्षाका गुरु गजानन्द राजोपाध्यायले ब्राम्हण पहिचानसँग संस्कृतको ज्ञान पनि जोडिएकोमा जोड दिँदै संस्कृत अध्ययनमा मन लगाउन आग्रह गर्नुभयो ।

जिल्ला संयोजक सुजित राजोपाध्यायले समयसापेक्ष यस किसिमका कार्यक्रमहरुको आयोजना गर्दै जाने जानकारी दिनुभयो ।

३ महिना संचालन हुने कक्षामा करीब २० जना राजोपाध्याय युवाहरुको सहभागीता रहेको छ ।