स्वबासीका भूमिसम्बन्धी समस्या समाधान गर्न जोड

Swoniga Online | २०८० जेठ २५, बिहिबार वर्गीकृत स्थानीय-समाज

काठमाडौं उपत्यकाका स्वबासीहरुले आफ्नो भूमिसम्बन्धी समस्या समाधान गर्न आग्रह गरेका छन् ।

आज उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठसँग उक्त आग्रह गरेका हुन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले काठमाडौंं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिनुभएको छ ।

उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने बताउनुभएको हो ।

‘म अहिले मन्त्रीपरिषद्को सदस्य पनि हुँ । मलाई तपाइँहरुको समस्या राम्रैसँग ज्ञात छ । त्यसैले हजारौं वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानियहरुलाई लालपूर्जा उपलब्ध गराउनेमा सहजिकरण गर्नेछु ।’ मन्त्री श्रेष्ठले बताउनुभयो ।

संघर्ष समितिले २०७२ सालमा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भएपनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा गुनासो गरेका छन् ।

उनीहरुले भूमि सम्बन्धिको अधिकार प्राप्त हुनुपर्ने माग राख्दै विभिन्न कार्यक्रम गर्दैआएको छ । स्थायी रुपमा स्वबासीहरुको समस्या समाधान गर्नको लागि बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने उनीहरुको मुख्य माग हो ।

घरखेत दर्ता बन्द भएकै कारणले सरकारलाई तिर्नुपर्ने घर कर समेत तिर्नबाट बन्चित हुनु परेको उनीहरुको भनाइ छ ।

स्वबासीहरुको धर्ना र ध्यानाकर्षण कार्यक्रममा देशभरका नेवार समुदायको साझा संस्था नेवाः देय् दबूका प्रतिनिधिहरुले ऐक्यवद्धता थिए ।

काठमाडौं उपत्यकाभित्रका तीन शहरका पुराना बस्तीहरुमा पुस्तौंदेखि बसोबास गर्दै आएका धेरै स्वबासीहरुले लालपूर्जा पाएका छैनन् ।

कतिपय ठाउँमा यसअघिका भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको पहलमा लालपूर्जा वितरण गरिएको भएपनि त्यो कामले पूर्णता पाइसकेको छैन ।