शर्माकै उपस्थितीमा पुस्तक प्रकाशन गर्न नपाएकोमा राजोपाध्यायको दुःख

Swoniga Online – Swonigaonline Reporter | २०७९ आषाढ ८, बुधबार वर्गीकृत स्थानीय-समाज

राजोपाध्याय समाजका अध्यक्ष संजय शर्मा राजोपाध्याले स्वगीृइ इतिहासविद् सह प्राध्यापक गोवर्धन शर्माको पुस्तक प्रकाशन गर्न पाउँदा आफुलाई खुसीको साथमा दुःखको पनि लागेको बताउनुभएको छ ।

स्वनिगः अनलाईनसँग कुरा गर्दै अध्यक्ष राजोपाध्यायले इतिहासविद् शर्माको जीवनकालमै पुस्तक प्रकाशन गर्न नपाएकोमा दुःख पोख्नुभएको हो ।

‘गोवर्धन शर्माको निधन भएको करीब १४ वर्ष पछि भएपनि हामीले उहाँको पुस्तक प्रकाशन गर्न पायौं, खुसी लागेको छ तर, पुस्तक विमोचन कार्यक्रममा बस्दा उहाँलाई निकै सम्झैं, उहाँलाई सँगै राखेर पुस्तक विमोचन गर्न पाए कति राम्रो हुन्थ्यो’ भावुक हुँदै राजोपाध्यायले भने ।

ईतिहासविद् शर्माको २०६५ साल भाद्र १३ गतेको दिनमा निधन भएको थियो ।

निधन अघि विभिन्न समयमा शर्माले लेखेका नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीका उपन्यासहरुको समालोचनलाई संकलन गरेर समाजले पुस्तकको रुपमा प्रकाशन गरेको हो ।

गत शुक्रबार समाजले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गरेको हो ।

कार्यक्रममा समालोचक पूर्णकाजी ताम्राकारको साथमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, ईल्वहँ पब्लिकेशनका प्रवन्ध निर्देशक नरेशबीर शाक्यलगायतले पुस्तक सार्वजनिक गरेका थिए ।

समालोचक ताम्राकार, देय् दबूका अध्यक्ष बज्राचार्य र ईल्वहँका प्रवन्ध निर्देशक शाक्यले कार्यक्रममा बोल्दै महाकवि जोशीको साहित्यिक प्रतिभा र इतिहासविद् शर्माको समालोचकिय प्रतिभाको प्रशंसा गरेका थिए ।

समाजका अध्यक्ष संजय र संस्थापक अध्यक्ष वदन ज्वालानन्द राजोपाध्यायले समाजको उद्देश्य, हुँदै आएका गतिविधिको बारेमा प्रकाश पारेका थिए ।

सोही कार्यक्रममा २०७६ र २०७७ सालमा एसईई उत्तीर्ण भएका राजोपाध्याय विद्यार्थीहरु र महामारीको समयमा अग्रपंक्तिमा खटेर स्वास्थ्य सेवा दिने राजोपाध्याय स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको थियो ।

समाजले सोही कार्यक्रमसँगै पुस्तक मेलाको पनि आयोजना गरेको थियो । मेलामा सनातनी धर्म, वेद, तन्त्र, संस्कार, संस्कृतिको साथै विभिन्न क्षेत्रसँग सम्वन्धित र साहित्यिक पुस्तकहरु समेत राखिएको थियो ।

एक दिनेमा मेलामा २ हजार भन्दा बढिले सहभागीता जनाएको मेला संयोजक सुजित राजोपाध्यायले जानकारी दिनुभयो । संयोजक राजोपाध्यायका अनुसार मेलामा एक लाख बढि रकमको पुस्तकहरु विक्रि भएको छ ।