add

महाभारतका शकुनी मामा गुफि पेन्टलको निधन

Swoniga Online | २०८० जेठ २२, सोमबार वर्गीकृत कला

महाभारत टेलीश्रृंखलामा शकुनी मामाको भूमिका निर्वाह गरेका गुफी पेन्टलको निधन भएको छ ।

७८ वर्षीय गुफीको मुम्बईस्थित अँधेरी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एक साता अघि मुटु र मृगौलाको रोगबाट पीडित भएपछि उपचारको लागि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको आजै अन्तिम संस्कार गरिने बताइएको छ ।

गुफीको जन्म सन् १९४४ अक्टोबर ४ को दिन भारतको तरनतारनमा भएको थियो । सन् १९६२ मा भारत–चीन युद्ध चलिरहेको बेला गुफी इन्जिनियरिङ पढ्दै थिए ।

युद्धको समय भएकोले कलेजमा पनि आर्मी भर्ती चलिरहेको थियो । उनलाई आर्मीमा भर्ना हुन मन भएकोले आर्मी भर्ना भए ।

त्यसपछि उनको पोस्टिङ चीन सीमामा भयो । त्यही समय सीमामा मनोरञ्जनका लागि रामलीला नाटक गर्थे ।

हास्य शैलीमा प्रस्तुत गरिने उक्त रामायणमा उनले सीताको भूमिका निर्वाह गरेका थिए र रावणको भेषमा एक व्यक्ति स्कुटरमा आएर सीताको अपहरण गर्थे ।

अभिनयमा रुचि बढ्न थालेपछि उनका कान्छो भाइ कंवरजीत पेन्टलको आग्रहमा गुफी सन् १९६९ मा मुम्बई आए । मुम्बईमा उनले मोडलिङ र अभिनय सिके र धेरै फिल्ममा सहायक निर्देशकको रूपमा पनि काम गरे ।

उनले सन् १९७५ मा रफू चक्कर नामक फिल्मबाट बलिउडमा डेब्यू गरेका थिए । धेरै फिल्म र टिभी सिरियलमा काम गरे पनि उनलाई वास्तविक पहिचान सन् १९८८ मा बीआर चोपडाको महाभारतबाटै मिलेको थियो ।

महाभारत पछि उनी गुफी पेन्टल नामबाट भन्दा पनि शकुनी मामा भनेरै चिनिए । यति मात्र होइन, शकुनी मामा पात्रको कुकृत्यका लागि गुफीले परिवार, समाजबाट कैयन ठाउँमा गाली पनि खानुपरेको थियो ।

यसलाई उनको अभिनको सशक्तता नै मान्न पर्छ । यसबाहेक, गुफीले ‘महाभारत’ को लागि कास्टिङ डाइरेक्टर र प्रोडक्सन डिजाइनरको रूपमा पनि काम गरेका थिए ।