देशको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु – खनाल

Swoniga Online – Swonigaonline Reporter | २०७९ कार्तिक २३, बुधबार वर्गीकृत राजनीति

आसन्न आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ८ बाट नेकपा एमाले पार्टीबाट सर्वेन्द्र खनालले उम्मेदवारी दिएका छन् ।

पूर्व प्रहरी महानिरिक्षकसमेत रहेका उम्मेदवार खनाल अहिले आफ्नो क्षेत्रमा चुनावी प्रचार प्रसार व्यस्त छन् । यसै क्रममा उनी असन भोटाहिटी क्षेत्रमा आम मतदातासँग कुराकानी गर्दै गरेको भेटिए ।

त्यो बेला हामीले सोध्यौं, ‘तपाईँको मुख्य एजेन्डा के हो ?’

हाम्रो प्रश्नमा उनले विज्ञता र अनुभव पनि सुरक्षा क्षेत्रमै भएको कारणले सुशासन, समाज र समग्र राष्ट्रको सुरक्षा आफ्नो मुख्य एजेन्डा भएको उनले बताए । निर्वाचित भएर आएपछि आफ्नो ३० बर्षको अनुभवबाट पाएको ज्ञान र दख्खललाई देशको सुरक्षाका लागि पं्रयोग गर्ने उनले बताए ।

‘सुरक्षा र कानून मेरो ज्ञान र दख्खलको क्षेत्र हो, देशको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नेछु’, उम्मदेवार खनालले भने । ‘साथमा सुशासन कायम गर्न सान्दर्भिक कानूनलाई निरन्तरता र असान्दर्भिक कानून संशोधन गर्न भूमिका खेल्नेछु ।’

आम जनतालाई व्यवाहारिक रुपमा अप्ठ्यारो बनाउने खालका कानून हटाउन पनि आफुले प्रयास गर्ने खनालले बताए ।

साथमा आफुले आर्थिक समृद्धिमासमेत योगदान दिने उनको भनाई छ । विगतमा नेपाल प्रहरीमा रहँदा जनता र समाजको सुरक्षाको लागि दृढ संकल्पका साथ समर्पित रहेजस्तै अब राजनीतिक क्षेत्रबाट समग्र देशको विकास र आर्थिक समृद्धिका लागि अघि बढ्ने उनको भनाई थियो ।

‘म निर्वाचित भएर आएपछि देशमा आयात भन्दा निर्यात बढाउने, युवाहरुलाई देशभित्रै स्वरोजगार बनाउन र यहाँका स्थानीय आदिवासी धर्म, कला, संस्कृति, सम्पदाको संरक्षणमा भूमिका खेल्ने मेरो योजना छ’ खनालको भनाई थियो ।

नेपाल प्रहरीबाट अवकाश पाइसकेपछि आफुले साढे दुई वर्षको अवधिमा स्थानीय समाजमा एक आम नागरिकको रुपमा सामाजिक जीवन बिताउँदा अब देश र राष्ट्रको लागि केही गर्न राजनीति क्षेत्रमा लाग्नुपर्ने महसूस भएको उनले बताए ।

‘देश र जनतालाई केन्द्रमा नराखी गरिने स्वार्थको राजनीति देख्दा अब म पनि यसमा प्रवेश गर्छु र परिवर्तनका लागि केही योगदान दिन्छु भनेर आएको छु, आशा छ आम नागरिकले साथ दिनुहुनेछ र परिवर्तनमा हामीले उदाहरणीय भूमिका खेल्नेछौं’ खनालको भनाई हो ।