त्यंघःमा अष्टमातृकासहित रक्तकालीको मूर्ति स्थापना

Swoniga Online – Swonigaonline Reporter | २०७९ चैत्र १७, शुक्रबार वर्गीकृत स्थानीय-समाज

काठमाडौंको त्यंघल टोलमा रहेको रक्ताकालीको मन्दिरमा अष्टमातृकासहित रक्तकालीको नयाँ मूर्ति प्रतिस्थापन गरिएको छ । अष्टमातृकासँगै सिंघिनी, ब्याघ्रिनी, गणेश, लक्ष्मी, नारायण र नागराजको स्वर्णलेपन गरिएको मूर्ति प्रतिस्थापन गरिएको हो ।

मूर्ति स्थापनाका लागि बुधबारदेखि लगातार ३ दिनसम्म विशेष पूजा गरिएको थियो ।

बुधबारका दिन मूर्तिमा प्राण प्रतिष्ठासँगै यज्ञ, महोदवको रुद्राभिषेक पूजा र नवचण्डी पाठ गरिएको थियो । १२ जना राजोपाध्याय ब्राह्मणहरुबाट यी पूजाहरु सम्पन्न गरिएको थियो ।

यी पूजाहरु सम्पन्न भए लगत्तै रात्री  पंचबलिसहित विशेष पूजा गरिएको थियो ।

दोश्रो दिन विहिबार नवकुमारी पूजा गरिएको थियो भने शुक्रबार मूल कुमारी पूजा गरिएको थियो ।

त्यंघः त्वाः कुमाः खलःले आयोजना गरेको कार्यक्रमको संयोजन श्री भैरवनाथ समूह नेपालका अध्यक्ष पुरुषोत्तम महर्जनले गरेका थिए ।

विश्वशान्तिको साथै सम्पूर्ण राष्ट्रवासीको सुस्वास्थ्यको कामनासहित कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक महर्जनले बताए ।

प्रतिस्थापन गरिएका मूर्तिहरु ललितपुरका रवि शाक्यले बनाएका हुन् ।

रक्तकालीलाई अष्टमातृकामा चामुण्डाको रुपमा लिइन्छ भने स्थानीय वासिन्दाले कुलांभुलु अजिमा भन्ने गरेका छन् । अष्टमातृकामा अन्य देवीहरुमा ब्रह्मायणी, माहेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी र महालक्ष्मी रहेका छन् ।