add

पत्रकार दबूको साधारण सभामा ५ पत्रकारको साथमा संचार गृह समेत सम्मानित

Swoniga Online – विकेश राज शर्मा | २०७७ चैत्र २०, शुक्रबार वर्गीकृत स्थानीय-समाज

मातृभाषा पत्रकारिताको विकासमा योगदान दिनुका साथै विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने नेवाः पत्रकारहरुको साथमा एक संचार गृहसमेत सम्मानित भएको छ । मध्यपुर थिमिमा आज भएको नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकारहरुको साथमा एक टेलिभिजन च्यानललाई पनि सम्मान गरिएको हो ।

सभामा जनआस्थामा प्रवन्ध सम्पादक वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई २० हजार राशीसहितको ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरियो । नागरिककर्मी पत्रकार कृष्ण किसीलाई रु. १५ हजार राशीसहित ज्ञानदेवी मणिरत्न स्थापित स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

त्यस्तै फोटो पत्रकारितामा सक्रिय महिला फोटो पत्रकार रेखा शाक्यलाई बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो । उक्त पुरस्कारको राशी रु. १० हजार रहेको छ ।

बुद्ध धर्मसम्वन्धी शिक्षा र सन्देश प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजन भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बोधि टेलिभिजनका कार्यकारी निर्माताले राजु नापितले बोधि टेलिभिजनको प्रतिनिधित्व गर्दै रु. १२ हजार राशीसहितको उक्त पुरस्कार ग्रहण गर्नुभयो ।

उत्तरी र दक्षिणी दुबै मोहडाबाट सगरमाथाको सफल आरोहण गरी वर्ल्ड बुक अफ रेकर्डमा नाम दर्ता गराउन सफल पहिलो र हालसम्म एक मात्र महिला पत्रकार कल्पना महर्जनलाई पनि सोही कार्यक्रममा विशेष सम्मान प्रदान गरिएको थियो । नेपाल सरकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सदस्यमा मनोनित नमस्ते टेलिभिजनकर्मी ऋषिकेश श्रेष्ठलाई बधाईसहित सम्मान गरिएको थियो ।

सम्मानित सबैलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले दोसल्ला ओढाउनुभयो भने वागमती प्रदेशका सांसद राजेश शाक्यले सम्मान पत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा बोल्दै वागतमी प्रदेश सांसद शाक्यले पत्रकारिता क्षेत्रमा मोफसलका पत्रकारहरु सक्रिय रहेको बताउँदै शाक्यले उहाँहरुलाई काठमाडौं उपत्यकाको जानकारी दिनुपर्ने सुझाव राख्नुभयो । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना महामारीलाई ध्यानमा राखेर सचेत रहँदै स्वास्थ्य मापदण्डको पालना गर्दै जात्रापर्व लगायतका संस्कृति अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले धर्मादित्य धर्माचार्यलाई मातृभाषाको पहिलो पत्रकारको रुपमा स्थापित गर्न प्रेस काउन्सिलले पत्रकार दबूसँग सहकार्य गरेर कार्यक्रमहरु सञ्चालन गर्न पहल गर्ने घोषणा गर्नुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष दण्ड गुरुङले नेपाली पत्रकारलाई सबभन्दा पहिले संगठित गर्ने अग्रज पत्रकार सत्यनारायण बहादुर श्रेष्ठ, पहिलो मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासंघको तर्फबाट बोल्दै गोविन्द चौलागाईँले महासंघ समावेशी पत्रकारिताको पक्षधर भएको जिकिर गर्नुभयो ।

राष्ट्रिय दलित पत्रकार संघका वरिष्ठ उपाध्यक्ष गोपाल बराइली, नेवाः देय दबूका केन्द्रिय अध्यक्ष नरेश ताम्रकार, पत्रकार दबूया निवर्तमान अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले भाषिक, जातीय र लैङ्गिक समानता र समावेशीको लागि भाषिक, जातीय संघसंस्था एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजवीर वज्राचार्यले सत्य नारायण बहादुर श्रेष्ठलाई पत्रकार महासंघका संस्थापकको रुपमा मान्यता दिलाउन भाषिक संघसंस्थाबाट सहयोग हुने अपेक्षा राख्नुभयो । दबूका केन्द्रीय वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबूले पहिलो पटक मातृभाषा पत्रकारिताको सम्मलेन गरेको स्मरण गर्दै अब राष्ट्रिय सम्मेलनको योजना रहेको जानकारी गराउनुभयो ।

दबूका केन्द्रीय महासचिव सुनील महर्जनले सबैको सामूहिक प्रयासले पत्रकार दबू अहिले संस्थागत रुपमा बलियो बनिसकेको दावी गर्नुभयो । कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेवाः पत्रकारको हकहितका लागि ५ लाखको लक्ष्य लिइ स्थापना गरेको अक्षय कोषमा हाल १६ लाख रुपैयाँ पुगेको तर त्यो रकम पनि अपुग देखिएको अनुभव बाँड्दै कोषलाई ५० लाख पुर्‍याउने लक्ष्यसहित अघि बढेको बताउनुभयो ।

सोही कार्यक्रममा वागमती प्रदेशका सांसद शाक्य र मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले संयुक्तरुपमा पत्रकार दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन गर्नुभएको थियो । सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले पठाउनुभएको शुभकामना सन्देश दबूका सचिव केके मानन्धरले वाचन गरी सुनाउनुभएको थियो ।

सभाको बन्द सत्रले महासचिव महर्जनले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मत पारित गरेको छ ।