स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खनालको भनाई

Swoniga Online – Swonigaonline Reporter | २०७९ मङ्सिर १, बिहिबार वर्गीकृत राजनीति

अहिले चुनावी माहौलले वातावरण तताएको छ । आउँदा मंसीर ४ मा हुन गइरहेको आम निर्वाचनले माहौल गर्मिएको छ । दिनहुँ घरदैलो कार्यक्रम गर्दै उम्मेदवारहरु प्रचार प्रसारको क्रममा मतदाताको घर घर पुगिरहेका छन् ।

यसै क्रममा आसन्न आम निर्वाचनमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष उम्मेदवार सर्वेन्द्र खनाल मंगलबार ठमेल पुगे ।

खनाल ठमेल पुग्दा ठमेलबासीहरु निकै खुसी र उत्साहित देखिन्थे । एक त पूर्व प्रहरी महानिरिक्षक खनाल धेरैका लागि परिचित नाम हो । त्यसमा पनि ठमेलबासीका लागि त झन अझ नजिकको नाम हो ।

प्रहरी सेवामा कार्यरत रहँदा ठमेलको शान्ति सुरक्षामा खनालले खेलेको भूमिका अहिले पनि ठमेलबासीहरु सम्झने गर्छन् । र मंगलबार खनाल ठमेल पुग्दा उनीहरुले ति पुराना दिनलाई सम्झिँदै उत्साहित देखिएका थिए ।

काठमाडौंको मुख्य पर्यटकीय र सांस्कृतिक स्थलको रुपमा चर्चित ठमेल पुग्दा खनालले मतदातासँग अन्य विभिन्न विषयवस्तुको साथमा स्थानीय परम्परा, संस्कृतिको बारेमा पनि कुराकानी गरेका थिए ।

सो क्रममा खनालले आफुलाई स्थानीय संस्कृति, परम्परा निकै प्यारो लाग्ने बताएका छन् ।

उम्मदेवार खनालले विगतमा आफु प्रहरी सेवामा रहँदा विभिन्न जात्रापर्वहरुमा स्थानीय जनतासँग समन्वय गर्दै सुरक्षा व्यवस्था कायम गर्न भूमिका खेल्ने गरेको र जात्रालाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न सक्दो योगदान दिने गरेको बताए ।

सो काममा आफुलाई स्थानीय जनताको ठुलो साथ र सहयोग रहेको पनि खनालको भनाई हो ।

‘विगतमा प्रहरीको रुपमा समाजमा सेवा पुर्‍याएँ । अहिले फेरी एक पटक स्थानीय जनताको साथ र सहयोग लिइ जन प्रतिनिधि बनेर देश र राष्ट्रको सेवा गर्नको लागि भनेर आएको छु, आशा छ सबैले साथ दिनुहुनेछ’ खनालले भने ।

स्थानीय संस्कृतिबाट आफुले धेरै कुराहरु सिकेको पनि उनले बताए । कुराकानीको क्रममा उम्मेदवार खनालले २०६५ सालको ईन्द्रजात्रा काण्ड र त्यो बेलाको स्थिती पनि सम्झिए ।

‘त्यो बेलाको परिस्थिती अरु आन्दोलन भन्दा फरक थियो । त्यो बेला आफ्नो परम्परा, संस्कृति जोगाउनुपर्ने माग लिएर स्थानीय जनसमुदाय आन्दोलनमा उत्रिएका थिए । दमन गर्ने कुरै भएन, स्थानीय समुदायसँग मिलेर मैले समन्वयकारी भूमिका निभाएँ’ खनालले १५ वर्ष पुरानो समय सम्झिँदै भने ।

उक्त समयमा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले ईन्द्रजात्राको लागि दिँदै आएको बजेटमा कटौती गरेपछि आक्रोशित स्थानीय जन समुदाय जात्रा नै रोकेर आन्दोलनमा उत्रिएका थिए ।

त्यो बेला स्थिती नियन्त्रणमा राख्न खनालले खेलेको भूमिकालाई लिएर धेरैले प्रशंसा गरेका थिए ।

त्यो बेला एक सुरक्षाकर्मीको रुपमा यहाँको स्थानीय जात्रापर्वमा विभिन्न भूमिका खेलेको र अब जन प्रतिनिधिको रुपमा स्थानीय संस्कृति परम्पराको दीगो व्यवस्थापन र संरक्षणका लागि भूमिका खेल्ने आफ्नो योजना रहेको खनालको भनाई थियो ।