जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठन गरिने

Swoniga Online – Swonigaonline Reporter | २०७९ फाल्गुण १४, आइतबार वर्गीकृत कला

जनजाति चलचित्र सम्वन्धि अध्ययन, अनुसन्धानलगायतका कार्यहरु गर्न आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरिएको छ ।

नेवाः फिल्म सोसाइटीबाट काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष राईले आदिवासी जनजाति चलचित्रलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्दै यसको अध्ययन, अनुसन्धान, अभिलेखीकरणलगायतका काम गर्न महासंघले प्रतिष्ठान गठनको योजना अघि बढाएको उद्घोष गरे ।

‘नेपालको चलचित्रको विषयवस्तु भनेकै आदिवासी जनजाति बनेको छ । अब आदिवासी जनजाति चलचित्र सम्वन्धि अझ गहन अध्ययन गर्दै अनुसन्धान गर्दै जानको लागि महासंघले प्रतिष्ठान गठनको योजना अघि बढाएका छौं’ राईले भने ।

प्रज्ञा प्रतिष्ठान गठनका लागि अहिले आफुले प्राज्ञहरुसँग छलफललाई तिब्रता दिएको जानकारी गराए ।

साथमा राज्य तहले मातृभाषी चलचित्र क्षेत्रको उत्थानका लागि पहल गर्नुभन्दा भएका सुविधासमेत कटौती गर्न खोजिरहेको गुनासो पनि गरे ।

यस अघि पनि पटक पटक आदिवासी चलचित्र क्षेत्रलाई दबाउन खोजेको दावी गर्दै फेरी पनि यस्तै भएमा आफुहरु संघर्षमा उत्रिने चेतावनी दिए ।

चलचित्र विकास बोर्ड अन्तर्गतकै मातृभाषी चलचित्र प्रवद्र्धन समितिलाई अहिलेसम्म बोर्डले एउटा कार्यकक्ष नदिनुबाट राज्यको मातृभाषी चलचित्र क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट भएको राईको भनाई हो ।

लामो संघर्ष पछि चलचित्र ऐनमा आदिवासी जनजाति चलचित्र उल्लेख गराउन आफुहरु सफल भएको पनि राईले स्मरण गराए ।

सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकार र आदिवासी जनजाति चलचित्र महासंघले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

जनजाति चलचित्रको प्रचार प्रसार र सूचना प्रवाहमा पत्रकार दबूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि श्रेष्ठले व्यक्त गरे ।

त्यस्तै नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले राज्यदेखि संचार माध्यमसम्मले पनि जनजाति सम्वद्ध गतिविधिहरुलाई बेवास्ता गर्ने गरेको गुनासो गरे ।

‘मूलधार भनिएको खस भाषाको चलचित्रसँग सम्वन्धित भएमा संचारमाध्यममा ठुलै समाचार पनि बन्ने गर्छ तर, मातृभाषी चलचित्रको ठुलै कार्यक्रम, गतिविधि, आन्दोलन भए सानो समाचारसम्म बन्दैन, किन ?’ राजोपाध्यायले प्रश्न तेर्साए ।

यस्तो परिवेशमा मातृभाषी चलचित्रकर्मी र पत्रकार एकजुट भएर अघि बढ्नुपर्नेमा राजोपाध्यायले जोड दिए ।

कार्यक्रममा फिल्म सोसाइटीले महासंघ र पत्रकार दबूको नवनिर्वाचित कार्यसमितिलाई शुभकामनासहित नेवार परम्परा अनुसार ख्येँय् सगं (सगुन) दिइएको थियो ।

फिल्म सोसाइटीकी कोषाध्यक्ष सुनिता श्रेष्ठ, सदस्यद्वय शोभा महर्जन र रोजिना सुवालले महासंघ र पत्रकार दबूका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेवार परम्परा अनुसार अण्डासहितको सगुन ‘ख्येँय् सगं’ दिएका थिए ।

कार्यक्रममा फिल्म सोसाइटीका सदस्यद्वय रुपेन्द्र कुमार श्रेष्ठ, राजन शाहीले नेवाः चलचित्र क्षेत्र र सोसाइटीको गतिविधिबारे जानकारी दिएका थिए ।

त्यस्तै पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले जनजाति चलचित्रको कथावस्तु, निर्माण पक्षलाई लिएर पत्रकार र चलचित्रकर्मीबीच बहसको थालनी गर्न सुझाव दिए ।