ताम्सीपाखामा भोलि सडक महोत्सव हुँदै

Swoniga Online – Swonigaonline Reporter | २०७९ पौष १४, बिहिबार वर्गीकृत स्थानीय-समाज

नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले भिन्तुना सनिल कार्यक्रम अन्तर्गत भोलि शुक्रवार ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ ।

स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको साथै स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि भन्दै भोलि पुस १५ गते शुक्रबारका दिन कामपा १८ वडा कार्यालयले सडक महोत्सव गर्न लागेको हो ।

कामपा १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले नेपाल सम्वत न्हूदँ (नयाँ वर्ष) को अवसरमा वडा कार्यालयबाट वर्षेनी भिन्तुना सनिल कार्यक्रम गर्दै आएको र यसै कार्यक्रमको क्रममा यस वर्ष ताम्सीपाखा सडक महोत्सव गर्न लागेको जानकारी दिए ।

‘कार्यक्रम केही समय अगाडी नै गर्नुपर्ने हो तर, यसपालि आम निर्वाचनको कारण केही ढिला हुन गएको हो’ वडाध्यक्ष महर्जनले बताए ।

१८ वडाभित्रका मूर्त, अमूर्त सम्पदाको पहिचान, संरक्षण, सम्वद्र्धनको साथै प्रसार प्रसारको उद्देश्यसहित कार्यक्रम गर्दै आएको महर्जनले जानकारी दिए ।

त्यसैगरी वडा कार्यालयले समय समयमा गृहिणी लक्षित विभिन्न सीपमूलक तालिम गर्दै आएको र ती तालिमका सहभागीहरुबाट उत्पादित स्थानीय उत्पादनको बजार प्रवद्र्धनको लागि पनि कार्यक्रम गर्दै आएको उनले बताए ।

महोत्सवमा स्थानीय हस्तकलाका सामग्री र विभिन्न खाद्य परिकारका करीब २० वटा स्टल रहने बताइएको छ ।

‘फुड स्टलमा यःमरि, वः, चतांमरि लगायत यहाँका मौलिक परिकारहरु रहनेछ भने हस्तकलाका सामग्रीको स्टलमा वडाबाट तालिम लिएका गृहिणीहरुबाट उत्पादित अचार, बेकरी, मखमली कपडाको जुत्ता, झोल साबुन, डल्लो साबुन आदि रहनेछ’ महर्जनले जानकारी दिए ।

साँस्कृतिक कार्यक्रममा सुल्तान अफ स्ट्रिङ अनिल शाहीको समेत प्रस्तुति रहनेछ । साथमा सुरेन्द्र मानन्धर र सविन शाक्यको प्रहसन पनि प्रस्तुत गरिने वडा कार्यालयले जनाएको छ ।

साथै न्यू जेनिथ इङ्गलिस मोडल स्कूलका विद्यार्थीहरुको नृत्य प्रस्तुति पनि कार्यक्रममा रहेको बताइएको छ ।

साथमा नरदेवी, किलागल, त्यंगःत्वाः कुम्हाः खलः, उदाय समाज लगायतबाट धाः, बाँसुरी लगायतका प्रस्तुतिसँगै आआफ्नो टोल समुदायको अमूर्त सम्पदाको पहिचान प्रस्तुत गरिने पनि बताइएको छ ।

महोत्सवमा स्टलहरु भने विहानको १० बजेबाट सुरु हुनेछ भने साँस्कृतिक कार्यक्रम दिउँसो २ बजेबाट सुरु हुने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले गएका वर्षहरुमा नरदेवी, रक्तकाली, किलागल, भुरुङखेल लगायतका स्थानहरुमा भिंतुना सनिल कार्यक्रम सम्पन्न गरिसकेको छ ।