add

सहिदलाई चिनाउन कामपा लागिरहने मेयर शाक्यको भनाई

Swoniga Online – Bikesh Sharma | २०७७ माघ १४, बुधबार वर्गीकृत स्थानीय-समाज

सहिद सप्ताहको तेस्रो दिन १३ गते सिफलमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले देशको लागि बलिदान दिने शहिदहरु आगामी पुस्तालाई पनि चिनाउन काठमाडौं महानगरपालिकाले सक्दो प्रयास गरिरहने बताउनुभएको छ ।

शाक्यले सहिदहरुको सम्झना चीरकालसम्म रहन सकोस् भनी महानगरपालिकाले चार सहिदकै पूर्ण कदको सालिक निर्माण गरेको स्मरण गराउनुभयो ।

सो अवसरमा सहिद धर्मभक्त माथेमा मानवसेवा आश्रमका लागि पनि महानगरपालिकाले बजेट छुट्याएको जानकारी दिँदै सहिद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरिसकेको पनि शाक्यले बताउनुभयो ।

शाक्यले सहिदहरुको सम्झनामा काठमाडौँ महानगरपालिकाकै पहलमा ८० वर्षपछि भए पनि पूर्णकदको शालिक निर्माण गर्ने अवसर प्राप्त भएको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘

शहिदहरुले राष्ट्र र जनताप्रति गरेको योगदान हामी भुल्न सक्दैनौँ, उहाँहरूको सालिक मुन्तिर उभिएर उहाँहरूले देखाएको बाटो हिँड्न प्रेरणा मिलोस् भनेर हामीले पूर्णकदको सालिक निर्माण गरेका हौँ’ शाक्यले भन्नुभयो ।

कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले राजनीतिक परिवर्तनसँग सहिदको सपना अन्तरसम्बन्धित भएको उल्लेख गर्नुभयो । सभामा महानगरको वडा नं. ७ का वडाध्यक्ष शुद्धकुमार डंगालले सहिदको सपना पूरा गर्न भौतिक समृद्धिसँगै चेतनामा पनि समृद्धि हुनुपर्ने टिप्पणी गर्नुभयो ।

राणा शासनको विरोधमा आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड दिइएको थियो । उहाँहरुको स्मरण गर्दै हरेक सहिद दिवस मनाउने गरिएको छ ।

यस बर्षको सहिद सप्ताह कार्यक्रमअन्तर्गत माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थानमा श्रद्धाञ्जली सभा आयोजना गरी काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह सुरु गरेको थियो । सहिद सप्ताहका बाँकी कार्यक्रम अन्तर्गत माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई अमरत्व स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ । त्यस्तै माघ १६ गते शान्तिबाटिकाबाट प्रभात फेरी निकाली सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली सभा हुनेछ ।