सुकुम्बासी समस्या समाधान गर्नको लागि साथ दिन भूमी आयोगको आग्रह

Swoniga Online – बिराज | २०८० जेठ ३, बुधबार वर्गीकृत स्थानीय-समाज

सुकुम्बासीको अवस्था, व्यवस्थापनका पक्ष र भूमि आयोगलाई लिएर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाः युथ अर्गनाइजेसनले गत शनिबार काठमाडौंमा ‘भूमि आयोग र हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले राज्यले एक पटकका लागि भूमिहीनलाई भूमिपति बनाउन गरेको प्रयासलाई सबैले साथ दिएर बास्तविक सुकुम्बासीलाई सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष प्रजापतिले अन्तरक्रिया कार्यक्रममा उठेका विभिन्न प्रश्न र जिज्ञासाहरुको उत्तर दिने क्रममा परिस्थितीले भूमिहीन बन्न पुगेका बास्तविक सुकुम्बासीहरुको पहिचान गर्न प्रकृया अगाडी बढाउनका लागि काठमाडौं जिल्लाका सम्पूर्ण स्थानीय तहलाई आग्रह गरे ।

‘भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, छानबिन, जग्गाको लागि सिफारीस सम्पूर्ण अधिकार स्थानीय तहलाई नै छ । डोजर लिएर जानुभन्दा प्रकृया अगाडी बढाएर आफैंले बास्तविक सुकुम्बासीको पहिचान गर्नको लागि म स्थानीय सरकारलाई आग्रह गर्छु’ अध्यक्ष प्रजापतिले भने ।

स्थानीय तहले भूमि आयोगसँग सम्झौता गरिसकेपछि भूमिहीन दलित, सुकुम्बासीको लगत संकलन, छानबिन आदि स्थानीय तहबाटै हुने गर्दछ । त्यसपछि आफ्नो क्षेत्रमा दिन मिल्ने जग्गा छ वा छैन भन्ने सिफारीस पनि स्थानीय तहबाटै हुन्छ ।

कथित विकासका नामबाट काठमाडौं उपत्यकाकै कतिपय रैथानेहरु सुकुम्बासी बन्न बाध्य भएको बताउँदै प्रजापतिले एक पटक पाएको मौकालाई सदुपयोग गर्न पनि आग्रह गरे ।

‘यहाँका कतिपय स्थानीय बासिन्दाले सुकुम्बासीको नामबाट जग्गा चाहिन्न नै भने । भूमिहीन भएर पो सुकुम्बासी, जग्गा पाएपछि के को सुकुम्बासी ? अब जग्गा लिएर भूमिपति बन्ने कि जहिल्यै सुकुम्बासीकै जीवन बिताउने, त्यो त उहाँहरुकै इच्छा भयो’ प्रजापतिको भनाई हो ।

नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले काठमाडौं उपत्यकामा पनि सडक विस्तारलगायत विभिन्न बिकासको नाममा नेवार समुदाय पनि सुकुम्बासी बन्न पुगेको भन्दै ती पिडित परिवारसँग समन्वय र भूमि आयोगसँग सहकार्यका लागि देय् दबू तयार रहेको प्रतिवद्धता जनाए ।

नेपाः युथ अर्गनाइजेसनका का.वा. अध्यक्ष बिजय डंगोलले राज्यले बिकासको नाममा सुकुम्बासी बनाइदिएका काठमाडौंका स्थानीय बासिन्दालाई भूमिपति बनाउन अब अर्गनाइजेसन सक्रिय बन्ने उद्घोष गरे ।

कार्यक्रममा विभिन्न जातीय, सामाजिक संघसंस्थाका प्रतिनिधि, अभियानकर्मीहरुको साथमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्दै आएका भूमिहिन स्वबासीहरुको समेत उपस्थिती रहेको थियो ।