स्वर्गीय शर्माको समालोचना पुस्तक सार्वजनिक हुँदै

Swoniga Online – Swonigaonline Reporter | २०७९ आषाढ १, बुधबार वर्गीकृत कला

ईतिहासविद् सह प्राध्यापक स्वर्गीय गोवर्धन शर्माबाट लिखित पुस्तक ‘उपन्यासया चाकलय् गिरिजा’ प्रकाशन हुने भएको छ । स्वर्गीय शर्माको निधनको करीब १४ वर्षपछि उनको पुस्तक प्रकाशन हुन लागेको हो ।

राजोपाध्याय समाजले शर्माको उक्त पुस्तक प्रकाशन गर्न लागेको हो ।

नेपालभाषा साहित्य क्षेत्रका महाकवि गिरिजा प्रसाद जोशीबाट लिखित विभिन्न उपन्यासको शर्माले लेख्नुभएको समीक्षालाई संकलन गरेर समाजले पुस्तकको रुपमा प्रकाशन गर्न लागेको हो ।

समाजले आउँदो असार ३ गते शुक्रबार काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा एक कार्यक्रमको आयोजना गरी पुस्तक सार्वजनिक गर्न लागेको छ ।

‘गोवर्धन शर्मा एक बहुआयामिक व्यक्तित्त्व थिए, उनको जीवनकालमै यो पुस्तक प्रकाशन गर्न पाएको भए निकै खुसीको कुरा हुन्थ्यो । उहाँको यो कृति हामीले प्राप्त गर्यौैं, ढिलै भएपनि अब यो पुस्तक प्रकाशन हुन लागेको छ’ समाजका अध्यक्ष संजय शर्मा राजोपाध्यायले भने ।

पुस्तकको मूल्य रु. ३५० राखिएको छ भने विमोचनको अवसरमा ४० प्रतिशत छुटमा पुस्तक उपलब्ध गराउने अध्यक्ष राजोपाध्यायले जानकारी दिए ।

स्वर्गीय शर्माको गत २०६५ भाद्र १३ गतेका दिन निधन भएको थियो ।

साथमा, समाजले पुस्तक मेलाको पनि आयोजना गरेको छ । आउँदो शुक्रवारकै दिनमा र नेपाः ब्यांक्वेटमा समाजले करीब दिनभरी जसो पुस्तक मेलाको आयोजना गर्न लागेको हो ।

मेलामा धर्म, बेद, तन्त्र, संस्कार, संस्कृतिसँग सम्वन्धित पुस्तकको साथमा साहित्य र विभिन्न क्षेत्रसँग सम्वन्धित पुस्तक पनि उपलब्ध हुने पुस्तक मेलाका संयोजक सुजित राजोपाध्यायले बताए ।

पुस्तक सहज रुपमा उपलब्ध हुने वातावरण बनाउँदै अध्ययन, अनुसन्धानमा टेवा दिनका लागि पनि पुस्तक मेलाको आयोजना गर्न लागिएको संयोजक सुजितले बताए ।

यसपछि वृहत् रुपमा ३ दिने मेलाको आयोजना गर्ने योजनामा आफु रहेको सुजितले घोषणा गरे ।