‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियो प्रिमियर

Swoniga Online – Surendra Bhakta Shrestha | २०७७ फाल्गुण २८, शुक्रबार वर्गीकृत कला

हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच प्रिमियर गरिएको छ । नेपालभाषाको ‘भगवान खः मांबा’ले आमाबुवा नै हाम्रा भगवान हुन् भन्ने अर्थ दिन्छ । थिमि बैंक्वेटमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा मेयर श्रेष्ठले तेलुगू भाषामा निर्माण भएको गीतले अन्तर्राष्ट्रिय पुरस्कार जितेको स्मरण गर्दै भाषा विशेषको गीतमा परिधि निर्धारण नहुने बताउनुभयो ।हुनपनि दक्षिण भारतको आन्ध्र प्रदेश र तेलंगाना राज्यमा बोलिने द्रविड़ भाषा समूहको तेलुगूमा निर्माण भएको सो गीतलाई अन्य भाषामा अनुवाद गरिएको थियो ।

‘भगवान खः मांबा’ नेपालभाषाकाे  म्युजिक भिडियो लोकार्पण‘अब आमाबुवाप्रति समर्पित गरेर बनाइएको हरिसुन्दर लाखे श्रेष्ठको गीतलाई भाइरल बनाउनुपर्छ । यसमा सिंगो नगरपालिकाले सहयोग गर्छ ।’ मेयर श्रेष्ठको आश्वासन थियो ।गीतमा टिप्पणी गर्दै वरिष्ठ गीतकार सुवासचन्द्र ढुंगेलले गीतको मुखरा र अन्तरालाई छन्द र शब्द गनेर निर्माण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई ‘कला दीर्घसेवा सम्मान’ तथा वरिष्ठ संगीतकार रत्न (बेहोसी) बज्राचार्यलाई ‘संगीत दीर्घसेवा सम्मान’ दिइएको थियो ।

‘भगवान खः मांबा’ नेपालभाषाकाे  म्युजिक भिडियो लोकार्पण

आमाबुवाप्रतिको दायित्वबोध गराउने आसयसहितको गीत लोकार्पण कार्यक्रममा नगरका सय वर्षिय जेष्ठनागरिक पुरुष ज्ञानलाल श्रेष्ठ र एक सय तीन वर्षिय जेष्ठनागरिक महिला कृष्णमाया चक्रधरलाई अभिनन्दन गरिएको थियो ।दीवंगत भइसकेका आमाबुवाप्रति समर्पित गरेर लाखे श्रेष्ठले रचना गरी गाउनुभएको गीतलाई मध्यपुर योग साधना केन्द्रले निर्माण गरेको हो ।

वरिष्ठ संगीतकार रत्न (बेहोसी) बज्राचार्यले संगीत दिनुभएको गीतलाई सुरेन्द्र श्रेष्ठले एरेन्ज गर्नुभएको हो ।युवा निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको म्युजिक भिडियोमा हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठले बुवाको भूमिकामा कलाकारिता प्रस्तुत गर्नुभएको छ ।त्यस्तै कलाकारहरुमा रचना सिंह, यमन श्रेष्ठ, अनु महर्जन, सिजन कायस्थ, साहिल द्वारे, हरिसुन्दर लाखे श्रेष्ठ, रियान श्रेष्ठ, रोशन भासिमा, सम्यक मानन्धर छन् ।