खड्गी समाज आयोजनामा उद्घोषण तालीम सुरु

Swoniga Online – बिराज | २०८० जेठ ३, बुधबार वर्गीकृत स्थानीय-समाज

काठमाडौंमा नेपाल राष्ट्रिय खड्गी समाजको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ । गत जेठ १ गते सोमबारबाट सात दिने उद्घोषण तालीम सुरु भएको हो ।

तालीमको औपचारिक उद्घाटन भने गत बैसाख ३० गते शनिबार गरिएको थियो । बागमति प्रदेशकी सभासद् सरीता खड्गीले तालीमको औपचारिक उद्घाटन गरिन् ।

उद्घाटन पछि बोल्दै सभासद् खड्गीले आफुले पनि विगतमा उद्घोषण तालीम लिएको स्मरण गर्दै प्रशिक्षणको भरपूर फाइदा लिँदै आफ्नो वाक कला विकास गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिन् ।

‘आफुलाई लागेको कुरा बोल्न सक्नुपर्छ, बोल्न जान्नुपर्छ । यो प्रशिक्षणको सक्दो फाइदा लिनुस्, सिलसिला मिलाएर आकर्षक ढङ्गले बोल्न सिकेर अगाडी बढ्नुस्, मेरो शुभकामना छ’ सभासद् खड्गीले भनिन् ।

कार्यक्रममा खड्गी समाजका काठमाडौं जिल्लाका अध्यक्ष सुभाष शाही, प्रवक्ता बालकृष्ण खड्गीले सुरुमा बोल्न डर महसूस भएपनि अघि बढ्न र बोल्दै जान प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

प्रशिक्षार्थीहरुलाई संचारकर्मी साथै उद्घोषक बिराजकाजी राजोपाध्यायले प्रशिक्षण दिइरहेका छन् ।

नेपालभाषाबाट प्रशिक्षण भनिए तापनि विशेष रुपमा उद्घोषण सम्वन्धि विभिन्न पक्षहरु र नेपालभाषाबाट गरिने उद्घोषणमा ध्यान दिनुपर्ने विषयमा आफुले प्रशिक्षण दिइरहेको प्रशिक्षक राजोपाध्यायले बताए ।

‘नेपालभाषाबाट उद्घोषण तालीम भनेपनि मुख्य रुपमा उद्घोषणकै तालीम हो, चाहे नेपालभाषाबाट होस् वा अन्य भाषाबाट । नेपालभाषाबाट गरिने उद्घोषणमा ध्यान दिनुपर्ने पक्षहरुको बारेमा पनि प्रशिक्षण दिइरहेको छु’ प्रशिक्षक राजोपाध्यायले भने ।

तालीम कार्यक्रमका संयोजक प्रतिक खड्गीले वाक कलाको विकास होस्, साथमा युवा पुस्तामा मातृभाषा सम्वन्धि चेतना आओस् भनेर कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा खड्गी समाजका केन्द्रीय उपाध्यक्ष श्यामकृष्ण खड्गी, महासचिव मिलन शाही लगायतको उपस्थिती रहेको थियो । तालीममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

आउँदो जेठ ७ गते आइतबार समापन कार्यक्रम गर्दै तालीमको औपचारिक समापन गरिँदैछ ।