मिस नेवाः कृषा महर्जन सम्मानित
Swoniga Online – स्वनिगः संवाददात | २०७७ चैत्र ७, शनिबार वर्गीकृत राष्ट्रिय
काठमाडौं महानगरपालिका वडा नं. १५ बस्ने कृषा महर्जन मिस नेवाः ११४१ को उपाधि जित्न सफल भएकोमा उनलाई बधाई दिने कार्यक्रम सम्पन्न भएको छ ।
नेवाः देय् दबू, १५ वडा समितिले सुश्री महर्जनलाई १५ वडाको सामुदायिक भवनमा नेवार परम्परा अनुरुप सगुन दिएर सम्मान गरेको थियो । मिस नेवाः ११४१ को उपाधि जित्न सफल महर्जनले नेवार जाति, भाषा र नेवार कला, संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्नका लागि कदम चाल्न सकोस् भनी सम्मानपत्रका साथै मायाको चिनो प्रदान गरी सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कामपा १५ वडाका वडाध्यक्ष एवं कामपा प्रवक्ता इश्वरमान डंगोल उपस्थित भएका थिए । उनले ने.सं. ११४१ मिस नेवाः हुन सफल कृषा महर्जनलाई सम्मानपत्र र मायाको चिनो हस्तान्तरण गरेका थिए । सम्मानका क्रममा डंगोलले काठमाडौं महानगरपालिकामा पाइलैपिच्छे धेरै सम्पदा रहेको र ती सम्पदाहरु संरक्षण गर्न सचेतना कार्यक्रम मिस नेवाः ११४१ कृषा महर्जनबाट सञ्चालन गर्ने बताए ।
‘नेवार भाषाका कारणले नै नेवार संस्कृति, सम्पदा संरक्षण भइरहेको छ । यस कुरालाई मनन गरेर कामपाबाट स्थानीय भाषाको माध्यमबाटकाठमाडौंका सम्पदा संस्कृति संरक्षणका लागि स्थानीय विद्यालयमा अनिवार्यरुपमा कक्षा १ देखि ८ सम्म ‘येँ देय् म्हसिके’ पाठ्य पुस्तक समावेश भएको हो ।’ प्रमुख अतिथि डंगोलले बताए ।
सम्मान कार्यक्रममा विशेष अतिथिका रुपमा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार उपस्थित रहेका थिए । उनले नेवार समाजमा छोरीहरुलाई अन्य समाजमा भन्दा आवश्यकता अनुरुप उच्च प्राथमिकता दिइ रहेको कारणले गर्व महसूस गरे । ‘मिस नेवाः ११४१ कृषा महर्जनले अब चाँडै हुन लागेको जनगणनामा नेवारहरुको संख्या कम हुन नदिन सचेतना कार्यक्रमबाट आफ्नो भूमिका खेल्ने विश्वास लिएको छु ।’ ताम्राकारले भने, ‘नेवाः देय् दबूको पहिलो वडा शाखा १५ वडा समितिले सम्मानित गरेकी कृषा महर्जनले समग्र नेवार जाति, भाषा, कला, संस्कृति उत्थानमा सफलता मिलोस् ।’
कार्यक्रममा अतिथिका रुपमा नेवाः देय् दबू बागमती प्रदेशका अध्यक्ष उमेश स्थापित, काठमाडौं महानगरपालिकाका अध्यक्षमचाराजा महर्जनका साथै सम्मानित मिस नेवाः ११४१ की बुबा कृष्णकाजी महर्जन र आमा हसना महर्जन पनि उपस्थित भएका थिए ।
कार्यक्रममा समितिकी सदस्य निर्मला डंगोलले स्वागत मन्तव्य राखेका थिए भने सभापति नेवाः देय् दबू १५ वडा कमितिका अध्यक्ष मनराजा रंजितले सम्मान कार्यक्रममा सहभागिता जनाएर टेवा दिनुभएका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।


