सम्पदा संरक्षण गराैं भन्दा गलत बुझियाे – महर्जन

Swoniga Online – Swonigaonline Reporter | २०७९ बैशाख २२, बिहिबार वर्गीकृत स्थानीय-समाज

आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु जहिल्यै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गरेका छन् ।

आज काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरु र पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महर्जनले कतिपय अवस्थामा आफुले सम्पदाको मापदण्डभित्र बसेर काम गरौं भन्दा आफुलाई विरोधीको रुपमा पनि लिने गरेको बताए ।

संचारकर्मीको प्रश्नको उत्तर दिने क्रममा महर्जनले १८ वडा किलागल भित्रको पुलुकिसि घरको पुनर्निर्माणको क्रममा पनि आफुले मौलिक र परम्परागत शैलीमा पुनर्निर्माण गरौं भन्दा कैयन टोलबासीले आफुलाई गलत ढङ्गले बुझेको बताए ।

‘मैले मापदण्ड भित्र बसेर परम्परागत शैलीमा परम्परागत सामग्री प्रयोग गरेर पुलुकिसि छेँ बनाउँ, भूमिगत तल्ला नराखौं मात्र भनेको थिएँ । तर कतिपयले मैले पुलुकिसि घर नै बनाउन नदिएको किसिमले मेरो भनाईको अपव्याख्या गरिदिए’ महर्जनले भने ।

आफ्नो उद्देश्य अमूर्त सम्पदा अन्तर्गत पुलुकिसिलाई विश्व सम्पदामा सुचिकृत गराउने रहेको र त्यसकै लागि मापदण्ड अनुसार काम गरौं भन्ने रहेको उनले प्रष्ट्याए ।

‘मजिपाटमा लाखय् घर हेर्नुस्, परम्पराग शैलीमा परम्परागत सामग्री नै प्रयोग गरेर बनाइएको कति राम्रो छ । पुलुकिसि घर पनि त्यसरी नै बनाउँ भन्ने मेरो भनाई थियो । बनाउँदै नबनाउँ त मैले भन्न त के सोच्न पनि सक्दिन’ महर्जनले थप प्रष्ट्याए ।

आफु निर्वाचित भएमा कामपा १८ वडाभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना नै बनाएर काम गर्ने र वडालाई नमूना सांस्कृतिक वडाको रुपमा विकास गर्ने लक्ष्य रहेको महर्जनले बताए ।

१८ वडाभित्र रहेको देवीनाच, पुलुकिसि, नरदेवी नाच, नानीचायाः लगायतका अमूर्त सम्पदादेखि विभिन्न मठमन्दिर लगायतका मूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आफु लागिपर्ने प्रतिवद्धता महर्जनले व्यक्त गरे ।

आफ्नो योजना सुनाउने क्रममा उनले १८ वडालाई काठमाडौं महानगरको सम्पदा मार्गसँगै जोड्दै वडालाई पर्यटकिय हबको रुपमा विकास गर्ने र वडाबासीको आर्थिक स्तर उकास्नका लागि काम गर्ने घोषणासमेत गरे ।

कामपा १८ वडामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेत गरी तीन दलीय गठबन्धनले उम्मेदवारी दिएको छ ।

जसपा नेपालका चन्द्र महर्जनको नेतृत्वमा वडा सदस्य पदमा माओवादी केन्द्रका नहकुल महर्जन र नेकपा (एस) का मनिष हमालले उम्मेदवारी दिएका छन् ।

कार्यक्रममा गठबन्धन दलका उम्मेदवारहरुले बोल्दै वडाबासीलाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताहरुमा वडाबासीको पहुँच सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तीन दलको गठबन्धन रहेको भएपनि तीनै जनाको एउटै चुनाव चिन्ह छाता रहेको छ ।

शुरुमा नेपाली काँग्रेससँगै चार दलीय गठबन्धनबाट उम्मेदवारी दिने सहमति भएतापनि अन्तिम समयमा नेपाली काँग्रेसले धोका दिएको तीन दलीय गठबन्धन दलले बताएको छ ।

नेपाली काँग्रेसबाट धोका पाएपनि आफुहरुले भने पुरानै सहमतिको पालना गर्दै महानगर प्रमुख पदमा नेपाली काँग्रेसलाई नै समर्थन गर्ने उनीहरुले बताएका छन् ।