न्यूरोड गेट क्लबको रक्तदान कार्यक्रम सम्पन्न

Swoniga Online – Swonigaonline Reporter | २०७८ माघ २४, सोमबार वर्गीकृत स्थानीय-समाज

न्यूरोड गेट क्लबको आयोजनामा न्यूरोड गेटैमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गत माघ १० गते विधिवत् दर्ता भएको क्लबको परिचयात्मक कार्यक्रमको रुपमा आइतबार क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा ७७ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, कामपा २२ वडाका वडाध्यक्ष चिनीकाजी महर्जन, सभासद् विराजभक्त श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा काठमाडौं महानगर प्रमुख शाक्यले युवाहरुको सक्रियताले आफुलाई पनि उत्साहित बनाएको भन्दै समाजको हितमा हुने कुनै पनि काममा आफ्नो पनि साथ रहने बताउनुभयो ।

क्लबका अध्यक्ष आशिषमान सिंहले भोकिको, प्यूखालगायत न्यूरोड क्षेत्र अचेल निकै अव्यवस्थित बन्दै गएकोले अब क्लबले टोल व्यवस्थित बनाउन काम गर्ने बताउनुभयो ।

‘अचेल न्यूरोड क्षेत्र निकै फोहोर बन्दै गएको छ । कुचोले बढारेर मात्रै पनि समस्या समाधान हुन्न । हामी टोल, शहरलाई सफा सुग्घर बनाइराख्नका लागि समाजमा सचेतना जगाउन कार्यक्रमहरु ल्याउनेछौं’ अध्यक्ष सिंहको भनाई थियो ।

यस क्षेत्रमा देखिएको फुटपाथ पसलको समस्या समाधानको साथमा अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन पनि क्लबले पहल गर्ने क्लबका उपाध्यक्ष अशोक महर्जनले बताए ।