add

शिक्षकसँग भएका सहमति कार्यन्वयन गर्न सरकार तयार छ : स्वास्थ्य मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २८, आइतबार वर्गीकृत राष्ट्रिय

सिन्धुपाल्चोक, २८ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षकसँग भएका सहमति कार्यन्वयन गर्न सरकार तयार रहेको बताउनु भएको छ । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २२ औं जिल्ला  प्रतिनिधि सभा सम्मेलनको शनिबार बलेफीमा उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चार महिनापहिले आन्दोलनरत शिक्षकहरुसँग गरिएको सम्झौता र सहमतीको भावना अनुसार कार्यन्वयन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताउनु भएको हाे । ‘शिक्षकहरुसँग भएको सम्झौता कार्यन्वयन गर्न सरकार सकारात्मक ढंगले अगाडि बढेको छ । साधन र श्रोतले भ्याएसम्म सरकारले शिक्षकका पक्षमा काम गर्छ ।’ मन्त्री बस्नेतले भन्नुभयो । 

शिक्षक कमजोर भए देशको शिक्षाको अवस्था कमजोर हुने बताउदै मन्त्री बस्नेतले शिक्षकहरुको पेशागत सुरक्षा र शिक्षाको गुणस्तर बढाउने काममा सरकार अग्रसर रहेको दावी गर्नुभयाे । पहिलेको तुलनामा पछिल्ला वर्षमा शिक्षकहरुको आर्थिक हैसियत सुधार हुदै गएको बताउदै शिक्षकहरुले निरासाका कुरा भन्दा आशावादी कुरा गरेर देशका शिक्षाको विकासमा योगदान दिनु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनु पर्छ भन्ने मान्यताका साथ आफुले विभिन्न फोरमहरुमा कुरा उठाउदै आइरहेको बताउदै यसै सरकारले १२ कक्षासम्मको शिक्षा निशुल्क घोषणा गर्ने दावी गर्नुभयो । मेडिकल शिक्षाको विकासका लागि वर्तमान चिकित्सा शिक्षा ऐन संसोधन गर्नु आवश्यक रहेको बताउदै वर्तमान सरकारले ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिपरेको जानकारी दिनुभयाे। 

 

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिव भक्तध्यज बोहोराले शिक्षकहरुले सरकारसँग भएको सीमित स्राेत र सधानलाई मध्यनजर गरेर आफ्ना माग राख्नु पर्ने बताउनुभयाे । नेपाल शिक्षक संघका केन्द्रय महासचिव लक्ष्मीकिशोर सुवेदीले स्थानिय तहको टाउकोमा हालेर केन्द्र सरकार शिक्षा र स्वास्थ्यका सवालमा पन्छिन नमिल्ने बताउदै शिक्षकहरुले काठमाडौंका सडकमा उत्रिएर गरेको देशव्यापी आन्दोलन र त्यसको बलमा गरिएको सहमतिका आधारमा शिक्षकहरुमा माग तत्काल सम्बोधन गर्नु पर्नेमा जोड दिनुभयाे । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकमा अध्यक्ष ऋषिराम पौडेलले शिक्षकहरुमा जायज माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताउनुभयाे । शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमिल्सिनाले विधान अनुसार नेपाल शिक्षक संघले एक वर्षभित्र गरेका कामहरुको समिक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न सभा आयोजना गरिएको बताउनुभयाे । कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता सुभाष तिमिल्सिनाले शुभकामना व्यक्त गर्दै शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले शिक्षकहरुका जाजय मागहरु पुरा गर्न पार्टीको सहयोग रहने बताउनु भयाे । कार्यक्रममा शिक्षक नेताहरु नारायण तिमिल्सिना, गीता शिवाकोटी लगायतले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार अग्रसर हुनु पर्ने बताउनु भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले गत वर्ष सेवा निवृत भएका दुई दर्जनभन्दा बढी शिक्षकहरुलाई सम्मान गर्नुभएकाे थियो ।