नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभा सम्पन्न, ६ पत्रकार सम्मानित

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौँ/ ७ फागुन, नेवाः पत्रकार राष्ट्रिय दबुको साधारण सभा शनिबार सम्पन्न भएको छ । दबूकाे १२ औँ वार्षिक साधारण सभामा शनिबार नेपाली सञ्चार क्षेत्रका साथै मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने छ जना पत्रकारलाई नगदसहित पुरस्कृत गर्नुका साथै नेपालभाषा, संस्कृति प्रवर्द्धन तथा समावेशीकरण मुद्दामा उल्लेखनीय योगदान दिनुहुने तीन व्यक्तित्वलाई सम्मान गरेको छ । 

नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा माउन्टेन टेलिभिजनमा कार्यरत विश्वन्तर शाक्यलाई २० हजार रुपियाँ राशीसहित ज्ञानज्योति लक्ष्मीप्रभा पुरस्कार प्रदान गरिएकाे छ। झंकार एफएम रामेछापका युवराज श्रेष्ठ ज्ञानदेवी मणि पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो । उहाँलाई १५ हजार रुपियाँले पुरस्कृत गरिएकाे जनाइएको छ । बुद्ध धर्मको सन्देश प्रचार प्रसारमा योगदान दिएको कदरस्वरुप मेट्रो एफएमका उदेन न्हूसायमिलाई भिक्षु कुमार कश्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जसको पुरस्कार राशि १२ हजार रुपियाँ रहेको छ । यसैगरी नेपाल मण्डलकी सिल्भिया राजोपाध्याय वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार, अनलाइन डबलीका बुद्धशरण शाही बाबुराजा ज्यापु फोटो पत्रकारिता सम्मान र अनलाइन खबरकी रेणु त्वानाबासु श्रीराम स्मृति पत्रकारिता पुरस्कारले सम्मानित हुनुभयो । यी तीनैजनाले जनही दस हजार रुपियाँ प्राप्त गरे । नेवाः पत्रकार राष्ट्रिय दुबले २०७४ सालदेखि साधारणसभामा नेपालभाषाका पत्रकारहरुलाई सम्मानित गर्ने परम्पराको थालनी गरेको हो ।

यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबुले गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्य, गोरखापत्र दैनिकका सम्पादक सल्लाहकार उपेश महर्जन र आदिवासी जनजाति पत्रकार महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङलाई विशेष सम्मान गरेको छ । बागमती प्रदेशका मन्त्री चित्रकार, भिक्षू कौडण्य, नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष श्रेष्ठलगायतले पुरस्कृत तथा सम्मानित हुनेहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।

 

 

१२ औँ साधारण सभामा नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठलाई मान्यता नदिएर इतिहास तोडमोड गर्न खोजेको भन्दै चर्चा परिचर्चा भएको छ । 

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सुरुवात २००८ सालमा नेपाल टुडेको सम्पादक श्रेष्ठले आफ्नाे अध्यक्षतमा पहिलो पटक नेपाल पत्रकार संघको गठन गर्नु भएको हो । २०१२ सालमा पत्रकारहरुको अर्को बैठकबाट पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईको सभापतित्वमा नेपाल पत्रकार संघको पुनर्गठन गरिएको थियो । त्यसपछि यही तथ्यलाई पहिलो घटनाको रुपमा व्याख्या गरी भट्टराईलाई नेपाल पत्रकार महासंघको संस्थापक मानिँदै आएको छ ।

नेपाल भाषा मंका खलको भवनमा भएको कार्यक्रममा बागमती प्रदशका मन्त्री चित्रकारले पत्रकारको इतिहासलाई समग्ररुपमा अगाडि बढाउन बुलन्दरुपमा आवाज उठिरहको छ र यसअलाई अझ घनीभूतरुपमा सबै जनताले सुन्ने गरी प्रतिध्वन्धित गर्ने सामथ्र्य विकास होस् भनी शुभकामना दिनुभयो । यसैगरी उहाँले संघीयताको महत्वबारे पनि प्रकास पार्नुभयो । उहाँले भन्नुभयो, "राज्य एक जाति विशेषको होइन, यो सबैको हो । आर्थिक, सामाजिकरुपमा सांस्कृतिकरुपमा जुनजुन वर्गलाई किनारा लगाइएको छ ती पक्षलाई माथि उठाउन संघीयता आवश्यक छ ।" काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पत्रकारहरुले आफ्नाे जिम्मेवारी सही तरिकाले निर्वाह गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । समाजलाई कता डोर्याउने भन्ने जिम्मेवारीबोध पत्रकारहरुले गर्नुपर्छ– उहाँले भन्नुभयो ।

आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुरधन राईले सत्यनारायण बहादुर श्रेष्ठको अभियान सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामी सत्यको पथमा छौँ । यस अभियानलाई सफल पार्न फोनिजले सशक्तरुपमा आवाज उठाइरहेको छ । नेपाल पत्रकार महासंघका ७७ जिल्लामा ध्यानाकर्षण गराइसकेका छौँ । महासंघलाई पनि ज्ञापन पत्र बुझाइसकेका छौँ ।" 

यसैगरी कार्यक्रममा सम्मानित व्यक्तित्व तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष दण्ड गुरुङले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको रुपमा स्थापित गर्नुपर्छ भन्ने आफूले उठाएको आवाजले अहिले अभियानको रुप लिएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेर गलत इतिहास स्थापित गर्न खोजेको र यसले सत्यतथ्य जानकारी दिने नेपाली पत्रकारहरुको इमान्दारितामै प्रश्न चिन्ह खडा हुनेछ भनी चिन्ता व्यक्त गर्नुभयो 

नेवाः पत्रकार राष्ट्रिय दबुका सल्लाहकार राजु शाक्यले नेवार समूदायका मुद्दा, अभियानको समाचार मेनस्ट्रिम मिडियामा प्रसारण गर्न सहज नभएको तीतोसत्यबारे अनुभव सुनाउनुभयो । नेवाः पत्रकार राष्ट्रिय दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले पनि सत्यनारायण बहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्थापित गर्ने अभियान नरोकिने जानकारी दिँदै मातृभाषा पत्रकारको क्षमता विकासका लागि मातृभाषा सञ्चार प्रतिष्ठान सरकारले गठन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– धर्मादित्य धर्माचार्यलाई मातृभाषाको प्रथम पत्रकार स्थापित गर्ने क्रममा मिडिया फेस्टिभलको आयोजना गर्यौँ । मातृभाषा पत्रकार सम्मेलनको आयोजना भयो । अब सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महाखसंघको संस्थापक अध्यक्ष हो भन्ने मुद्दा उठाइरहेका छौँ ।

दबुका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले क्रियाशील पत्रकारहरुको हौसला दिने उद्देश्यले पुरस्कार प्रदान गर्दै आएको जानकारी दिनुभयो । यसैगरी वरिष्ठ उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले नेपाल पत्रकार महासंघ र आदिवासी जनजाति महासंघ हुँदाहुँदै पनि नेपाल भाषाका पत्रकारहरुले महासंघमा स्वतन्त्रता नपाइने र आफ्नाे हकअधिकारको कुरा गर्न नपाइने भएकोले नेवाः पत्रकार राष्ट्रिय दबुको गठन भएको बताउनुभयो । 

नेवा पत्रकार राष्ट्रिय दबु काठमाडौाका अध्यक्ष अरविन्दमान सिंहले नेपालभाषा पत्रकारिताको इतिहास एक सय वर्षभन्दा पुरानो भएको भन्दै यसको विकासक्रम बारे जानकारी दिनुभएको थियो । यसैगरी पुरस्कार विजेताहरुको तर्फबाट सिल्भिया राजोपाध्यायले आप्mनो लामो पत्रकारिताको यात्रालाई स्मरण गर्नु भयाे। 

यसैगरी सभाको बन्द सत्रले महासचिव केके मानन्धरले प्रस्तुत गर्नुभएको वार्षिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष बाबुकाजी श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मत पारित गरेको छ ।

सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूको स्मारिका ‘लुमन्ति पौ’ को विमोचन पनि गरिएको थियो ।