कांग्रेस महासमिति बैठक आजबाट सुरु

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण ७, सोमबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ ७ फागुन : पार्टीको आधिकारिक नीति तय गर्नेका लागि नेपाली कांग्रेसकाे महासमिति बैठक आज साेमबारबाट सुरु हुँदैछ ।  ललितपुरको गाेदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने महासमिति बैठकमा २ हजार १ सय ५ जना प्रतिनिधिहरु आधिकारिक छलफलमा सहभागी हुने जानकारी गराइएको छ ।
महासमिति बैठककाे तयारी सम्बन्धमा जानकारी दिन ललितपुरको गाेदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार पत्रकार आयाेजित पत्रकार सम्मेलनमा प्रचारप्रसार उपसमिति संयाेजक मीनबहादुर विश्वकर्माले महासमिति बैठकमा सहभागी २ हजार १ सय ५ जनाले आधिकारिक धारणा राख्न पाउने र ६० प्रतिशत भन्दा बढि सदस्यहरुले बाेल्न पाउने ब्यवस्था मिलाइएको जानकारी गराउनु भएको हाे ।
"वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु १ सय ६५, प्रतिनिधिसभाको सभाको निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु १ हजार ७ सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको छ ।" विश्वकर्माले भन्नुभयो ।
उहाँले प्रजातन्त्र दिवसको दिनबाट सुरु हुने बैठककाे मुख्य नारा 'राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता । स्वतन्त्रता,न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता ' भन्ने रहेकाे जानकारी गराउनु भयाे।
महासमितिका लागि आवश्यक सम्पुर्ण तयारी सम्पन्न भइसकेको र बैठककाे सम्पूर्ण जानकारीहरु दिने उद्देश्यका साथ सम्मेलन केन्द्रमा नै मिडिया सेन्टर स्थापना गरिएको जानकारी गराउनुहुँदै उहाँले सोही मिडिया सेन्टर
मार्फत एक/एक घण्टामा समाचार, सुचना तथा जानकारीहरु उपलब्ध गराउने गरि तयारी भएको बताउनुभयाे ।

महासमितिको मुख्य कार्य भनेको पाटीको नीति निर्माण गर्नु भएको बताउनु हुँदै उहाँले पार्टीको वैधानिक प्रावधान अनुसार आयोजना भएको यो महासमिति बैठकले पार्टीको समय सापेक्ष नीति तय गर्ने बताउनुभयो ।
महासमितिको बैठकको उद्घाटन भोली आइतबार दिउँसो १ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुने जानकारी गराइएको छ ।
यो महासमिति बैठकमा फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन
भएर आएका प्रतिवेदनहरु पेश भई छलफल हुनेछन् । बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा लेखा परिक्षण प्रतिवेदन पेश हुनेछन् । ती प्रतिवेदनहरु समूहगत रुपमा छलफल हुनेछ ।

बैठकमा छलफलका लागि तराई, मधेश, हिमाल, पहाड सबै क्षेत्रबाट प्रतिनिधित्व रहने गरी समुह विभाजन गरिने र चार वटा हलमा छुटा छुट्टै रुपमा प्रतिवेदनहरु माथि छलफल हुने जानकारी उहाँले गराउनु भयाे ।
उहाँले नीति अधिवेशनको रूपमा सम्पन्न हुने यो महासमितिको बैठकमा प्रस्तुत हुने यी प्रतिवेदनले वर्तमान राजनीतिक परिवेशलाई उचित सम्बोधन गर्दै व्यवस्था परिवर्तनका हरेक आन्दोलनमा सहभागी जनताहरू माझ नेपाली कांग्रेसले नै जनताको अवस्था परिवर्तनका लागि विश्वासीलो र भरपर्दो गरि काम गर्दछ, भन्ने थप विश्वास दिलाउने छ भन्ने बताउनुभयो ।

केन्द्रीय सदस्य तथा महाधिवेशनका लागि भाेजन व्यवस्थापन समितिका संयाेजक उदय शम्शेर राणाले महासमिति बैठकमा सहभागीहरुका लागि फागुन ८,९ र १० गतेका लागि बिहानकाे नास्ता र दिउँसोका लागि खानाकाे व्यवस्था गरिएको जानकारी गराउनुभयाे ।

त्यस्तै कांग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले सहभागीहरूकाे आवतजावतका लागि २० वटा बसहरु ब्यवस्थापन गरिएको जानकारी गराउनु हुँदै आवश्यक समन्वय र सहजीकरणका लागि जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई परिचालन गरिएको समेत जानकारी गराउनुभयाे ।  महासमिति बैठककाे उद्घाटनका दिन ललितपुर जिल्लाले विभिन्न भेषभूषामा र्याली सहित सहभागीहरुकाे स्वागत गर्ने उहाँले जानकारी गराउनुभयाे।