add

नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालकाे भरपूर उपयाेग गर्नुपर्ने - महेश्वर दाहाल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १३, आइतबार वर्गीकृत राजनीति

ललितपुर/ १३ फागुन, माओवादी केन्द्र प्रचार विभागका सहइन्चार्ज महेश्वर दाहालले नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालकाे भरपूर उपयाेग गर्नुपर्ने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला समितिले शनिवार आयाेजना गरेको ‘जनप्रतिनिधिसंग प्रेस सेन्टर’ विषयक कार्यक्रममा मन्तव्य राख्नुहुँदै दाहालले पत्रकारहरुले नागरिकलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्नका लागि सामाजिक सञ्जालकाे सही तरिकाले प्रभावकारी हुनेगरी भरपूर उपयाेग गर्नुपर्ने बताउनुभएको हाे । 

 

"वेबसाइटहरू, ब्लगहरू र सामाजिक सञ्जालहरू प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने अभ्यास नागरिक पत्रकारिता हो, जसको व्यवस्थित जग भने दक्षिण कोरियाबाट निर्माण भएको हो । अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लगहरू जन्मिएका छन्, यसकाे सही प्रयाेगबाट नै आजको युगमा प्रभावकारी रुपमा नागरिकमैत्री पत्रकारिता गर्न सकिन्छ ।" दाहालले भन्नुभयो । 

 

कार्यक्रममा ‘सामाजिक सञ्जालको प्रयोग र प्रचार युद्ध’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै उहाँले वेबसाइटहरू, ब्लगहरू र सामाजिक सञ्जालहरू प्रयोग गरेर जनताले जनतालाई नै सूचित गर्ने

अभ्यास दक्षिण कोरियाबाट निर्माण भएको बताउनुभयाे।  उहाँले सन् २००० देखि सामाजिक सञ्जालको प्रयोग र प्रचारले फड्को मार्दै आएको प्रष्ट पार्नुभयाे । दक्षिण कोरियाका अनलाइन उद्यमी ओह येओन-होको नेतृत्व टिमले 'सबै नागरिक रिपोर्टर' का अवधारणा ल्याएको जानकारी गराउनुहुँदै उहाँले सात सय २७ जना नागरिक रिपोर्टरहरूबाट सुरु भएको अनलाइन सूचना प्रणाली सन् २००७ सम्म आउँदा सय देशबाट ५० हजार नागरिक रिपोर्टरसहित विस्तार भएकाे र अहिले विश्वभरि इन्टरनेटले लाखौँ समाचार साइट र ब्लगहरू जन्माएको बताउनुभयो । 

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भवानी बरालले प्रेस र जनप्रतिनिधिको भेट शीर्षकमा दोस्रो कार्यपत्र प्रस्तुत गर्नुहुँदै सामाजिक सञ्जाल नयाँ मिडिया र आमसञ्चारका विविध विषयमा सरल तरिकाले प्रस्तुतिकरण गर्नु भएको थियो । उहाँले विद्युतीय माध्यमको प्रयोगका सकारात्मक र नकारात्मकक पक्षमा प्रकाश पार्नुहुँदै लोकतन्त्रको रक्षार्थ पत्रकारिता प्रभावकारी ढंगले उत्रनु पर्ने विषयमा जोड दिनुभयाे । उहाँले लोकरिझ्याँइ (डेमागग) प्रवृत्तिले प्राप्त लोकतन्त्रमाथि गरी रहेको बताउनुहुँदै हमला विरुद्ध उभिने साहस देखाउनु आजको आवश्यकता हो भन्नुभयो । उहाले युनेस्कोले सन् २०२२ मे ३ विश्व प्रेस स्वतन्त्रताको अवसरमा अगाडि सारेको थिम ‘प्रविधिको घेरबन्दीमा पत्रकारिता’ विषयलाई व्यापक छलफलमा लैजान आग्रहसमेत गर्नु भयो । 

 

कार्यक्रममा महालक्ष्मी–६  का वडा अध्यक्ष धर्म महर्जनले वडामा धेरै राम्रो काम गरेको तर पार्टी संगठनले सहयोग नगरेको दुखेसो पोख्नु भयो ।ललितपुर महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष रविन्द्र महर्जनले आफ्नो ऐतिहासिक बस्ती खाेकनाकाे सबल पक्षहरुकाे प्रचारप्रसारमा ध्यान दिन पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

कोन्ज्योसोम वडा नं. ५ का वडाध्यक्ष विजय लामाले राजधानीको कर्णालीको रुपमा वर्षौ दुख खेपेको बताउनुभयाे । उहाँले अहिले भारदेउ राजधानीको नजिकको पर्यटकीय स्थल रहेको बताउँदै सोकाे बारेमा उजागार गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

वागमती गाउँपालिका वडा नं. ५ इकुडोलका अध्यक्ष नवराज तिमल्सिनाले जिल्लाका हरेक पालिकाका सम्भावनाहरुलाई उजागर गर्न पालिका तहमै पुगेर जनप्रतिनिधिहरुसंग बहस र छलफलका कार्यक्रमहरु चलाइनुपर्नेमा जाेड दिनुभयो । 

माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्रीले वडामा बसेर बजेट निर्माण गर्ने कामलाई आफुले बजेट विनियोजन गर्ने आश्वासन र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमकाे ओैचित्यतामाथि प्रकाश पार्नुहुँदै प्रेस सेन्टर ललितपुरका अध्यक्ष रामहरि कार्कीले स्थानीय तहका जनप्रतिनिधिहरुले पत्रकारहरुले मागेकाे सूचना स्थानीय तहले सहजै रुपमा उपलब्ध गराउने परिपाटी बसाल्नु पर्ने बताउनुभयो । 

 

उक्त कार्यक्रममा संविधानसभा सदस्य राजकाजी महर्जन, वागमती प्रदेश सभाका पूर्व सदस्य दिनेश महर्जन, माओवादी केन्द्र जिल्ला अध्यक्ष शिव कट्टेल, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण अधिकारी, उपत्यका प्रदेश महासचिव टेनिस रोका, प्रेस सेन्टर उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावाली, अध्यक्ष नवराज दाहाल तथा जनप्रतितिनिधिहरुको उपस्थिति रहेको थियो ।