add

शिक्षासँगै खेलकुद क्षेत्रको विकासमा लागौँ : मन्त्री चित्रकार

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १४, सोमबार वर्गीकृत स्थानीय-समाज

ललितपुर/ १४ फागुन : बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले शिक्षासँगै खेलकुद क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । 

ओमेगा इन्टरनेशनल सेकेण्डरी स्कुलले आइतबार यहाँ आयोजना गरेको अन्तरविद्यालय कराँते च्याम्पियनसीप प्रतियोगिताको उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलकुद क्षेत्रको समेत विकास गर्नुपर्ने बताउनुभएको हो । 

“खेलकुद र शिक्षालाई एक आपसमा समायोजन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्नेछ,”– उहाँले भन्नुभयो । 

बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले सरकारले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले वडा र विद्यालय स्तरबाटै खेलकुदको विकासमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । 

प्रतियोगितामा ओमेगा स्कुलसहित फुल्चोकी मावि, सन्तानेश्वर विद्या मन्दिर, बज्र एकेडेमी, एभेन्स स्कुल, उन्नती इङ्लिस स्कुल, काष्ठमण्डप स्कुल, सत्य साई शिक्षा सदन गरी आठ विद्यालयका विद्यार्थीको सहभागीता रहेको थियो । 

प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र २३ कास्यपदकसहित ओमेगा स्कुल प्रथम, फुल्चोकी मावि द्धितीय र सन्तानेश्वर विद्या मन्दिर तृतीय भएको विद्यालयका सहायक प्राचार्य भरतसिंह धामीले जानकारी दिनुभयो ।