add

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्य मन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १४, सोमबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/१४ फागुन : सरकारी अस्पतालमा उपचारका लागि जाने बिरामीलाई सेटिङमा महंगो ओैषधि किन्न बाध्य पार्ने बिरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत हुनुभएकाे छ। अस्पतालका फार्मेसीमा ओैषधि नराखेर बाहिर महंगो औषधि किन्न बाध्य बनाउने सरकारी अस्पताल प्रमुख विरुद्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत कडा रुपमा प्रस्तुत हुनुभएकाे हाे।

वीर अस्पतालका निर्देशकले अस्पताल भित्र सञ्चालित फार्मेसीमा औषधि नराखेर विरामीलाई बाहिर महंगो औषधि किन्न बाध्य बनाएको व्यापक गुनासो आएपछि मन्त्री बस्नेतले मन्त्रालय, औषधि व्यवस्था विभाग र सञ्चारकर्मी सहितको टोली पुगेर फागुन ३ गते वीर अस्पतालको फार्मेसीको निरीक्षण गर्नुभएकाे थियाे । निरीक्षणका क्रममा वीर अस्पतालको फार्मेसीमा उपलब्ध हुनु पर्ने औषधिको २० प्रतिशत औषधि मात्र फेला परेको थियो । बाहिरका फार्मेसीहरुबाट सेटिङमा आर्थिक लाभ लिएर विरामीलाई महंगोमा औषधि किन्न बाध्य बनाएको र टेन्डरमा नकिनेर सिधै औषधि खरिद गरेर नियम विपरित काम गरेको पाइए पछि मन्त्री बस्नेतले वीरको नयाँ सर्जिकल भवन अगाडिको खाली ठाउँमा टहरा राखेर भए पनि अस्पतालको फार्मेसी चलाएर विरामीलाई सर्वसुलभ ढंगले औषधि उपलब्ध गराउन निर्देशन दिनु भएको थियाे । त्यही दिन वीर अस्पताल वरिपरि रहेका निजी फार्मेसीहरुको अनुगमन गर्दा औषधि विभागमा दर्ता नभएका औषधि विक्री वितरण  गरेको, मिति गुज्रिएका औषधि विक्री गरेको र अत्यधिक महंगोमा औषधि वितरण गरेको भेटिएपछि दुई वटा फार्मेसी सिल गरिएको थियो । सोमबार पनि स्वास्थ्य मन्त्री बस्नेतको निर्देशनमा मन्त्रालय र औषधि विभागका महानिर्देशक सहितको टोलीले वीर अस्पतालको फार्मेसीको खरिद प्रकृया र कान्ति बाल अस्पतालको फार्मेसीको अनुगमन एवं निरीक्षण गरेको हो । स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्ररमण सिंह, अतिरिक्त सचिव डा. टंक बारोकोटी, औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा वीर र कान्तिका फार्मेसी अनुगमन निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा वीर अस्पतालमा नियम विपरित टेण्डर नै नगरि  सेटिङमा औषधि खरिद हुने गरेको पाइएको छ । कान्ति बाल अस्पतालमा प्रयोग हुने औषधिको ८० प्रतिसत अस्पतालकै फार्मेसीमा रहेको पाइएको औषधि विभागका महानिर्देशक ढकालले जानकारी दिनुभयाे । कान्तिको फार्मेसीमा जनशक्ति अभावका कारण समस्या भएको देखिएको ढकालले बताउनुभयाे । वीर अस्पतालको नयाँ सजिर्कल भवन अगाडिको खाली ठाउँमा टहरा निर्माण गरेर सर्वसुलभ ढंगले विरामीले औषधि किन्न सक्ने गरि फार्मेसी सञ्चालन गर्न स्वास्थ्य मन्त्री बस्नेतले दिएको निर्देशन अनुसार काम अगाडि बढेको वीर अस्पताल प्रसाशनले जानकारी दिएको छ ।