add

लुम्बिनीमा फागुन २० गतेदेखि त्रिपिटक पाठ

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत राष्ट्रिय

भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा यही फागुन २० गते आइतबारदेखि त्रिपिटक पाठ हुने भएको छ ।
अखिल नेपाल भिक्षुमहासंघको आयोजनामा तीन दिनसम्म सो पाठ गरिने बानेश्वरस्थित विश्वशान्ति विहारमा आयोजित पत्रकार भेटघाटमा बताइयो।
तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ – २०८० को नाम दिएर हुन लागेको सो पाठमा नेपालका भिक्षुसंगै भारत, थाईल्याण्ड, म्यानमार (बर्मां) का भिक्षुहरुको समेत सहभागीता रहने महासंघका सचिव भिक्षु निग्रोधले जानकारी दिए।
बुद्धजन्मभूमी लुम्बिनी विश्व शान्तिको मुहानको रुपमा प्रवद्र्धन गरी संसारभरि चिनाउने, लुम्बिनीको धार्मिक वातावरण अक्षुण्ण राख्दै सबैको मैत्री, करुणा र शान्तिको कामना गरी सो पाठ आयोजना गरिएको पनि सचिव भिक्षु निग्रोधको भनाई रहेको छ ।
त्रिपिटक बुद्धधर्मको मूल प्रमाणिक ग्रन्थ हो। २५ सय वर्ष अघि मागधि(पाली भाषा ) मा लेखिएको सो ग्रन्थ सुत्र पिटक सैद्धान्तिक, व्यावहारिक जनजीवन सम्बन्धी), विनय पिटक (विनय नियम) र अभिधम्म पिटक (चितसम्बन्धी) गरी तीन भागमा वर्गीकरण गरिएको छ ।
भिक्षु महासंघको आयोजनामा यस अघि दुई पटक त्रिपिटक पाठको आयोजना गरिएको थियो।