add

चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १५, मंगलबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ १५ फागुन: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काेरियाकाे चेओरवन सहर र नेपालकाे ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी भएको जानकारी गराउनु भएको छ। कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डललाई ललितपुर महानगरपालिकाका स्वागत कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख महर्जनले कोरियाको चेओरवन सहरको असल अभ्यासहरु ललितपुर महानगरले अनुशरण गर्दै कार्यान्वयन गर्ने तयारी भएको बताउनु भएको हाे ।
"हामीले स्मार्ट सिटी बनाउने भनेर हरेक कामहरु त्यही अनुसार गरिरहेका छाैं, काेरियाकाे चेओरवन सहरसंग भगिनी सम्बन्ध कायम गर्दै त्यहाँका सकरात्मक पक्षहरुकाे ज्ञान हासिल गरेर हामी ललितपुरलाई अझै बढि व्यवस्थित महानगर बनाउने प्रयत्नमा लाग्नेछाैं। भगिनी सम्बन्ध कायम गरेर विकासका सन्दर्भमा त्यहाँका अभ्यासहरुलाई अनुशरण गर्ने हाम्रो प्रयास हुनेछ ।" प्रमुख महर्जनले भन्नुभयो ।
चेओरवन सहरका मेयर जोङले ललितपुरकाे कला, संस्कृति र सम्पदाबाट आफू प्रभावित भएको बताउनु भएको छ । "सुन्दर सहरमा निमन्त्रणा गरेर अवलोकन गर्ने अवसर दिनु भएकोमा धेरै धेरै धन्यवाद । यहाँकाे काष्ठकला, धातुकला र ढुंगामा चित्र खोपेर व्यक्त गरिने कला धेरै राम्रो लागेको छ ।" उहाँले भन्नुभयो ।
चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि यो भ्रमण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । आगामी दिनमा भगिनी सम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेर अघि बढ्ने उहाँले बताउनुभयो । जोङले आफ्नो सहरमा ललितपुर महानगरका प्रमुख सहितको टाेलीलाई पुनः भ्रमणकाे निम्ता दिनुहुँदै कोरियामै भगिनी सम्बन्ध कायम गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयाे ।

ललितपुर महानगरको निमन्त्रणामा ललितपुरका असल अभ्यासहरु अवलोकनका लागि प्रतिनिधिमण्डल सहित चेओरवन सहरका मेयर ललितपुर आउनु भएको हाे । यसअघि गत असाेजमा ललितपुर महानगर प्रमुख महर्जनले कोरियाकाे भ्रमण गर्नुभएको थियाे ।

चेओरवन सहरका मेयर जोङकाे स्वागत कार्यक्रममा मन्तव्य राख्नुहुँदै उप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपालीले पाहुनालाई भगवान मान्ने बताउँदै कोरियाको चेओरवनका मेयरसहितको समूहलाई स्वागत  गर्न पाउँदा खुशी लागेको बताउनुभयाे । कोरियाबाट नेपालले उत्पादन, पर्यटन र पर्यावरणको क्षेत्रमा धेरै कुरा सिक्नु पर्नेमा उहाँकाे जाेड थियाे। दुई सहरले एक अर्काका असल अभ्यास सिक्नुपर्ने धारणा उहाँले राख्नुभयाे ।
मेयर ली ह्युन जोङको आठ सदस्यीय प्रतिनिधि मण्डलमा योजनाका निर्देशक, पर्यटन योजना विभागका निर्देशक, संस्कृति  र खेलकुद विभागका निर्देशक, अन्तर्राष्ट्रिय अफियरका इन्चार्ज लगायत हुनुहुन्छ ।
तीन दिने भ्रमणमा उहाँहरुले पाटन दरबार क्षेत्रको अवलोकन, बुङमतिका सम्पदा अवलोकन गर्नुहुने कार्यक्रम रहेकाे ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जले जानकारी गराउनुभयाे ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सूचनाअधिकारी देवप्रसाद गुरागाइँसहितकाे सहभागिता रहेको थियाे ।