add

पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण १६, बुधबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ १६ फागुन, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बुधबार अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता हरि घिमिरेले जानकारी दिनुभयो ।

आरोपीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

साथै अदानचुली गाउँपालिका वडा-३ का वडाध्यक्ष दत्त विष्ट, उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिल प्रसाद पाण्डेसहित ११ जनाविरूद्ध अख्तियारले ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी बिगो माग दाबी गरेको छ ।