नापी सर्भेक्षक चौलागाई र लेखापढी गर्ने पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २०, आइतबार वर्गीकृत राष्ट्रिय

काठमाडौं/ २० फागुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

सेवाग्राहीबाट घुस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी काम गर्ने पोखरेललाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाटसमेत गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनको लागि सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको र सो रकममध्ये सर्भेक्षक चौलागाईले जग्गा हालसाविकको काम गरिदिएवापत ५० हजार रुपैयाँ लिएको देखिएको छ ।

लेखापढी व्यवसायी पोखरेललाई एक लाख रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना तथा सर्भेक्षक चौलागाईलाई भने ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजायसहित मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताउनु भएको छ ।