ललितपुरको नागबहालमा इतिल्हन सम्यक महादान पर्व

Swoniga Online | २०८० फाल्गुण २५, शुक्रबार वर्गीकृत राष्ट्रिय

ललितपुरको नागबहालमा यही चैत्र १ गते विहीबार उपत्यकाका ३२ महाविहार (बहाःबही) का १ सय २५ देवीदेवताको दर्शन गर्न इतिल्हन सम्यक महादान पर्व हुदै छ ।

उक्तm इतिल्हन सम्यक महादान पर्वमा चापाँगाउँ, बुंङ्गमती, किर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको दर्शन अवसर मिल्ने छ।

ललितपुरमा पाँच वर्षको एकचोटी फागुण शुक्ल तृतीया र चौथीको दिन सम्यक महादान पर्व हुने परम्परा रहेको छ। 

सोही दिन दिउँसो नागबहाल परिसरमा रहेको ढुङ्गेधारामा धाः बाजा र बाँसुरी बाजाको प्रदर्शन गरिने छ । समितिका अध्यक्ष बज्राचार्यका अनुसार दिउँसो २ बजेदेखि ४ बजेसम्म भूमीशोधन पुजाका साथै दानप्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।

सोही दिन बज्रयानी बौद्ध परम्परा अनुसार मौलिक पोशाकमा सज्जिएका हिरण्यवर्ण महाविहारका बीस स्थविर आजु (जेष्ठ) आजुलाई पनि दान दिने गरिन्छ । सम्यक दानमा सहभागी भएका गृहस्थ भिक्षुहरू बज्राचार्य तथा शाक्यहरूलाई समेत धानचामल, लड्डु पुरी र दक्षिणा दान दिइन्छ।यस दान कार्यमा सम्यक दानका दाताका परिवारका सदस्य, आफन्तलगायतले आ–आफ्नो गच्छेअनुसार दान दिने प्रचलन रहँदै आएको छ र यसरी दान प्रदान गर्दा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।यही दान दिने कार्य नै सम्यक पर्वको मुख्य सार रहेको अध्ययेता लोकरत्न शाक्यले बताए। ‘सम्यक महादान लिच्छिविकालीन अमूर्त संस्कृति हो । सम्यक महादान पर्वले दानको महत्व, बौद्ध संस्कृति र संस्कारको राम्ररी अभिव्यक्त गरेको छ ।’ अध्येयता शाक्यले भने।

सम्यक महादान पर्वको अघिल्लो दिन अर्थात् फागुण ३० गते बुधबार राति भने बढी रौनकता छाउने गर्दछ। राति १० बजेदेखि १ बजेसम्ममा विभिन्न स्थानबाट भक्तजनहरुको लावालस्कर, परम्परागत धा बाजाका साथ देवीदेवताहरुलाई खटमा राखेर, बोकेर नागबहाल पु¥याउने गरिन्छ। ‘ बढी भीडभाड हुने, धाः बाजाको गुञ्जनसंगै पुरै माहौलले छोप्ने भनेको यही बेला हो ।’ अध्यक्ष बज्राचार्यले भने।

नागबहालमा देवी देवता पु¥याउनु अघि विभिन्न स्थानबाट ल्याइएका देवीदेवतालाई मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा राखिनेछ।त्यसपछि ललितपुरको टंगलस्थित जेष्ठवर्ण महाविहार टंगःबहाः गएर बसुन्धरादेवीलाई रथमा राखेर जात्रा गरिसकेपछि पाटन दरबार क्षेत्रमा राखिएको देवीदेवतालाई नागबहालमा क्रमबद्ध रुपमा देवीदेवताको विराजमान गराइने परम्परा रहेको छ । त्यस्तै सम्यक दान प्रदान गर्नका लागि राखिने देवताको लर्कोमा अतीत बुद्धका रुपमा गौतम बुद्ध भन्दा अघिका दिपंकर बुद्ध र वर्तमान बुद्धका रुपमा गौतम बुद्ध र भविष्यको बुद्धका रुपमा मैत्री बुद्धको भव्य सुर्वणमय मूर्ति पनि राखिन्छ।सम्यक दानमा खीर,लाखामरी गरी मीठाईका विविध परिकार सामग्री,रोटी फलफूल दान दिने गरिन्छ।