add

नेताहरुले गठबन्धन गरेर चुनावमा जाने परम्पराले राजनीतिलाई भ्रष्ट बनाएकाे छ - महामन्त्री थापा

Swoniga Online – स्वनिगः अनलाइन | २०८० फाल्गुण २८, सोमबार वर्गीकृत राजनीति

ललितपुर/ २८ फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावभन्दा अगाडि नेताहरु मिलेर चुनावमा जाने परम्पराले नेपालकाे राजनीतिलाई भ्रष्ट बनाएकाे बताउनु भएको छ । गाेदावरी नगरपालिकाकाे आठौं स्थापना दिवसकाे अवसरमा आइतबार यहाँ आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै महामन्त्री थापाले हालैको सत्ता गठबन्धन परिवर्तनले पनि चुनाव अगाडि नेताहरुकाे स्वार्थकाे आधारमा जनताकाे चाहानालाई तिरस्कार गर्दै गठबन्धन गरेर जानु नहुने बताउनुभएको हाे।
"अहिले पनि संसदमा कुनै दलकाे बहुमत छैन, यही प्रणाली हुँदा भाेली पनि कुनै दलकाे बहुमत हुँदैन । यसले नेताहरुकाे स्वार्थमा संसद र सरकार बन्धक बन्छ । जनताको आवश्यकता, अपेक्षा र चाहाना ओझेलमा पर्छ । भ्रष्टाचार बढ्छ । तसर्थ नेपालकाे राजनीतिलाई भ्रष्टीकरण हुनबाट बचाउन हाम्रो निर्वाचन प्रणालीलाई बदल्नुपर्छ ।" महामन्त्री थापाले भन्नुभयो ।

उहाँले मिश्रित निर्वाचन प्रणाली विकृत भयाे भन्नुहुँदै यसलाई नेताहरुले चरम दुरुपयोग गर्ने गरेकाे बताउनुभयो । उहाँले हालैको घटनाक्रमले पनि नेताहरुकाे स्वार्थमा संसद र सरकार बन्दक बनाउने कामलाई  निरुत्साहित गर्नुपर्छ भन्ने पाठ सिकाएको छ भन्ने धारणा राख्नुभयाे । प्रणाली ठीक नहुँदा नेपालले पाउने अवसर गुम्न सक्छ भन्नुहुँदै उहाँले संघीय प्रणालीलाई ठीक ढंगले उपयाेग गर्दै नागरिककाे सबैभन्दा नजिकको सरकार स्थानीय तहलाई दिइएको जिम्मेवारी अनुसार गुणस्तरीय सेवा दिन ध्यान दिनुपर्ने बताउनुभयो ।
गाेदावरी नगरपालिकाले समुन्नतिकाे बिषयबस्तुलाई राम्रोसँग ग्रहण गर्नु महत्त्वपूर्ण भएको भन्नुहुँदै उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधारको विकाससंगै मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदाकाे संरक्षणमा निरन्तरता दिन सफलता मिलाेस् भन्ने कामना गर्नुभयाे ।

बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले गाेदावरी नगरपालिकाका प्रमुखमा नगरपालिकाकाे विकास र समृद्धिकाे लक्ष्य, दृष्टिकोण र मार्गचित्र स्पष्ट रहेकाे बताउनुहुँदै विवादरहीत तरिकाले काम गर्न सफलताको कामना ब्यक्त गर्नुभयाे ।
बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले मुलुक संघीय संरचनामा गएपछि बनेको गाेदावरी नगरपालिकाले आठौं स्थापना दिवससम्म आइपुग्दा महत्त्वपूर्ण कार्यसम्पादन गरेको बताउनुभयाे । उहाँले यस नगरपालिकालाई शिक्षा, स्वास्थ, कृषि, पूर्वाधार र पर्यटनकाे क्षेत्रमा नमुना नगरपालिकाकाे रुपमा विकास गर्न लाग्न स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयाे ।
त्यस्तै, बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले सरकारले लिएको दिगाे विकास लक्ष्यलाई पूरा गर्नेतीर विशेष महत्त्व दिएर मानव विकास, सामाजिक विकास र  पूर्वाधार विकासमा लाग्न आग्रह गर्नुभयाे। उहाँले स्थानीय नागरिकहरुकाे सुख र समृद्धिका लागि ध्यान दिएर याेजना तथा कार्यक्रमहरु तय गर्न आग्रह गर्नुभयाे ।
जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले गाेदावरी नगरपालिका नगरवासीकाे इच्छा र चाहाना पूरा गर्न महत्त्वपूर्ण काम गरेको बताउनुभयो । उहाँले विकास निर्माणका सन्दर्भमा स्थानीय तहले चाहाना गरेबमोजिम संघ र प्रदेशले बजेट प्रवाह गर्न नसकेको बताउनुभयो। गाेदावरी नगरपालिकाकाे साैन्दर्य हरण गरिरहेकाे खानी क्षेत्रलाई पनि व्यवस्थापन गर्न नगरपालिका, प्रदेश सरकार र संघीय सरकारले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले ध्यानाकर्षण गराउनुभयाे ।
नगरप्रमुख गजेन्द्र महर्जनले भूगोलका हिसाबले उपत्यकाकाे सबै भन्दा ठूलो नगरपालिकाका जनप्रतिनिधिहरुकाे गुनासाेलाई सुझावका रुपमा लिएर काम गरिरहेको बताउनुभयो । उहाँले सीमित स्राेत र साधनका बावजुत पनि शिक्षा, स्वास्थ्यसंगै सम्पदा संरक्षणमा पनि ध्यान दिएको जानकारी गराउनुभयाे ।
उपप्रमुख मुना अधिकारीले नयाँ नगरपालिका भएकोले आन्तरिक स्राेतकाे कमीका कारण सबै वडा कार्यालय भवन बनिनसकेकाे बताउनुभयो ।