नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय- राष्ट्रपति पाैडेल

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र ८, बिहिबार वर्गीकृत राष्ट्रिय

ललितपुर/ ८ चैत, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक  सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताउनुभएको छ । 
मुस्लिम आयोगको पाँचौ वार्षिक स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै राष्ट्रपति पाैडेलले यस्तो बताउनुभएको हो ।
“मैले अस्ती हिन्दुहरूको पवित्र मन्दिर जलेश्वर महादेवको दर्शन गरे । हिजो बाैद्ध धर्मावलम्वीहरूको पवित्र मन्दिर  स्वयम्भूनाथको दर्शन गर्न गएँ र आज मुस्लिम समुदायबीच आएको छु “ राष्ट्रपति पौडेलले भन्नुभयो, “ नेपाली समाज कति सहिष्णु, कति सद्भावपूर्ण र प्रजातान्त्रिक उदारतापूर्ण छ भन्ने यो दृष्टान्त विश्वले आत्मसात र अनुशरण गर्ने खालको छ ।" उहाँले संविधानकाे यही भावनाको संरक्षण गर्नु नै सबै नैपालीको धर्म भएको पनि बताउनुभयो ।

राष्ट्रपति  पौडेलले राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष पुरा हुने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले समानुपातिक समावेशीताको आधारमा मुस्लिम समुदायलाई संविधान प्रदत्त राजनैतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्ने तथा तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याइनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“ सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि  उपयुक्त नीतिगत र कानूनी प्रयास गरिनु आवश्यक छ भन्ने मैले ठानेको छु”, उहाँले भन्नुभयो ।

नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरूमध्ये एक रहेको र यसले सबै जातजाति, भाषा, धर्म, समुदाय, वर्ग, क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउँदै उहाँले यसको व्यवहारिक कार्यान्वयनका लागि सबैलाई अपिल गर्नुभयो । राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको र नेपालमा सदिऔंदेखि सबै जातजाति, भाषा, धर्म र समुदायबीच आपसी सद्भाव, एकता र सहिष्णुता रहँदै आएको बताउँदै यो हाम्रो लागि गौरवको विषय भएको स्पष्ट गर्नुभयो ।

मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बर्द्धन तथा सशक्तीकरणका माध्यमबाट सिङ्गो मुस्लिम समुदायको वृहत्तर विकासको लागि नेपालको संविधानमा मुस्लिम आयोगको व्यवस्था गरिएको उहाँको भनाइ छ। “संविधान र कानूनले निर्दिष्ट गरेका कार्यभारलाई प्रभावकारी रुपमा सम्पादन गरी समग्र मुस्लिम समुदायको उन्नति र प्रगतिका लागि आयोगले आफ्नो भूमिकालाई आगामी दिनमाा अझै सशक्त र प्रभावकारी बनाउनेनै छ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो । आयोगले यो समुदायको हक हितको संरक्षण, धार्मिक, सांस्कृतिक र शैक्षिक धरोहरको विकास, संरक्षण र अध्ययन अनुसन्धान गरी विभिन्न नीतिगत, कानूनी र संस्थागत सुझाव तथा सिफारिस सरकार समक्ष प्रस्तुत गरी त्यसको कार्यान्वयन अवस्थाको अनुगमन गर्ने, विभिन्न किसिमका क्षमता विकास र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएकामा खुशी व्यक्त गर्नुभयो ।

मुस्लिम समुदायको अहिले चलिरहेको रमजान महिनाको रोजा व्रतको शुभअवसरमा रमजानको शुभकामना तथा मुवारक व्यक्त गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको अधिकार प्रवद्र्धन, क्षमता विकास र सशक्तीकरणका कार्यक्रम तर्जुमा गरी प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

साेही समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीले आयाेगले आफ्नो समुदायको पक्षमा वकालत गर्दै कानून निर्माणमा खेलेकाे भूमिकाकाे प्रशंसा गर्नुभयाे । उहाँले सबै समुदायको प्रतिनिधित्व र अपनत्व कसरी हुन्छ भनेर सरकार लागिपरेकाे बताउनुहुँदै संघीय निजामती ऐनका लागि सबैकाे सुझाव लिएर अगाडि बढ्ने र मुस्लिम समुदायको हीतलाई पनि केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । उहाँले सिङ्गो नेपाललाई एकताबद्ध बनाउन आयाेगले खेलेकाे भूमिका प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

सर्वाेच्च अदालतका न्यायाधीश अव्दुल अजित मुसलमानले नेपालकाे संविधानले प्रदान गरेकाे अधिकार र दायित्व निर्वाह गर्दै मुस्लिम समुदायको हीतमा लाग्न आग्रह गर्नुभयो ।
अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम समुदायको ठूलाे संघर्ष र याेगदानका कारण मुस्लिम आयाेगकाे स्थापना हुन सकेकाे बताउनुभयो । उहाँले अधिकार प्राप्ति र रक्षाका साथै समुदायकाे उत्थान र विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । देशकाे हरेक परिवर्तनमा समुदायले याेगदान दिएकाे बताउनुहुँदै सरकारी सुविधामा पछाडि परेकाे मुुस्लिम समुदायले संघीय निजामती ऐन आएपछि अवसर प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । सुखी नेपाली र समृद्ध नेपालकाे नारालाई साकार पार्न पछाडि परेका सबै समुदायलाई मुलधारमा ल्याइनुपर्नेमा जाेड दिनुभयो । उहाँले धार्मिक सहिष्णुता कायम गर्दै सामाजिक सद्भाव कायम गर्न आयाेगले अध्ययन, अनुसन्धानलगायतका कामहरु गर्दै आएको र मुस्लिम विश्व विद्यालय स्थापनाका लागि नेपाल सरकार समक्ष सिफारिस गरिएको बताउनुभयो ।
संविधानकाे धारा २६४ अनुसार २०७५ साल चैत ७ गते मुस्लिम आयाेगकाे स्थापना भएको हाे । साेही आधारमा आज पाँचौ स्थापना दिवसकाे अवसर पारेर कार्यक्रम सम्मान भएको हाे । साे अवसरमा राष्ट्रपति पौडेलले  सर्वाेच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान, सूचना प्रविधिको क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याए बापत अस्कर अलीलगायतलाई सम्मान गर्नुभएको थियो ।