add

क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने थलाेकाे रुपमा विकास गर्नुपर्छ - मन्त्री बस्नेत

Swoniga Online – स्वनिगः अनलाइन | २०८० चैत्र ९, शुक्रबार वर्गीकृत राजनीति

ललितपुर/ ९ चैत : उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने थलाेकाे रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
नवआगन्तुक विद्यार्थीहरुकाे स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयाेजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले क्याम्पस र विश्वविद्यालयलाई ज्ञानप्रशारणकाे थलाे मात्रै सीमित नगरेर ज्ञान उत्पादन गर्ने थलाेकाे रुपमा पनि विकास गर्दै मुलुकलाई समृद्धिकाे दिशामा लैजान सक्नुपर्ने धारणा राख्नु भएको हाे ।
"गाैरवशाली इतिहास बाेकेकाे याे क्याम्पसकाे आफ्नै इतिहास छ। अहिलेकाे देशकाे प्रधानमन्त्रीले पनि २८/२९ सालतीर यही क्याम्पसमा पढ्नुभएकाे थियाे ।उच्चशिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलक र देशकाे भविष्य निर्माणका लागि पनि क्रियाशील रहन विद्यार्थी भाईबहिनीहरुमा आग्रह गर्न चाहान्छु ।" मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले मुलुककाे स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको याेगदानमा खडा भएको अखिल (क्रान्तिकारी) ले मुलुककाे राजनीतिक जीवनमा परिवर्तन ल्याउन संघर्ष गरेकाे बताउनुहुँदै बदलिएको परिवेशसंगै इतिहास र आदर्शलाई मुलुककाे आवश्यकता र सन्दर्भसंग जाेडेर देशकाे अवस्था परिवर्तनमा लाग्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
देशका हरेक नागरिकले देशकाे भविष्य प्रति गर्व गर्दछन् भने राष्ट्रकाे विकास हुने बताउनुहुँदै उहाँले त्यसका लागि उच्चमनाेवल र गाैरवकाे सन्देश बाेकेर लाग्नुपर्नेमा जाेड दिनुभयो ।
उहाँले क्रान्ति सफल भएकाे दुई दशकमै सफलता हासिल भएन भनेर लिन नहुने बताउनुहुँदै सुशासन, सामाजिक न्यायसहितकाे विकासलाई पूरा गर्दै सरकार अगाडि बढ्छ भन्ने धारणा ब्यक्त गर्नुभयाे ।
नेपालमा उर्जा उत्पादनकाे १ सय १२ बर्ष पूरा भएको बताउनुहुँदै मन्त्री बस्नेतले आगामी १२ बर्षमा २८ हजार मेगावाट विद्युत उत्पादनकाे लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको बताउनुभयो ।
"१९६८ मा पहिलाेपटक उर्जा उत्पादन सुरु भयाे । त्याे वेलादेखि २०४८ सालसम्म ७८ वर्षकाे अवधि २५० मेगावाट उत्पादन भएछ। २०४८ देखि २०६२/६३ सम्म २५० थप भइ ५ सय मेगावाट उत्पादन भएछ । वि.स. २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ। याे तथ्यले पनि देश उन्नति तर्फ गइरहेको देखाएकाे छ ।" मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले १० बर्षमा गरिएकाे कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेकाे भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताउनुहुँदै याे देेशमा केही हुँदैन भन्ने भाश्यलाई चिर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष तथा बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानाेभन्दा सानाे काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्नुहुँदै याे देश बनाउनुपर्छ र सकिन्छ भन्ने कुराबाट प्रेरित भएर उच्चशिक्षा हासिल गर्दै देशकाे अवस्था परिवर्तनमा लाग्न आग्रह गर्नुभयो । उहाँले हरेक क्षेत्रबाट देशकाे विकासका लागि याेगदान गर्न सकिन्छ भन्नुहुँदै हाम्रो पिता पुर्खाले पाखाे पखेराे खनेर बनाएको देशकाे विकास र समृद्धिकाे लागि क्रियाशील हुनुपर्ने बताउनुभयो । पढ्दै नपढेकाे व्यक्तिले पनि लामाे समय एउटा काममा निरन्तरता दियाे भयाे भने त्याे क्षेत्रमा विज्ञ हुन सक्छ भन्नुहुँदै उहाँले देशमा भएको परिवर्तनको इतिहासलाई अध्ययन गर्न सकिएन भने भ्रमले राज्य गर्ने प्रष्टपार्नुभयाे । नराम्रो कुरा छिटो विक्छ, राम्रो कुरा विक्न समय लाग्छ भन्दै उहाँले सत्य कुरालाई आत्मसात गर्न समय र धैर्यता चाहिनेमा जाेड दिनुभयो ।
कार्यक्रममा उपप्राध्यापक शारदा लामिछाने सहित अखिल (क्रान्तिकारी)का केन्द्रीय पदाधिकारीहरुसमेतले मन्तव्य राख्नुभएको थियाे।